इलाम := इलाममा चियाको पहिलो टिपाई “फस्ट फ्लस” शुरु भएको छ । चिया टिपाई शुरु भएपछि जिल्लाका केही चिया कारखानाले प्रशोधन गर्न समेत थालेका छन । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपाई थालिएको हो ।
यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ । पहिलो टिपाई जति छिटो बजारमा पु¥याउन सक्यो त्यस पछिको बजारमा बिक्रि गर्न सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियोपत्ति भए पनि प्रशोधन गर्ने गरेका छन ।
अर्थोडक्स चिया उत्पादनका लागि अग्रडी रहेको यो जिल्लाका कृषकले बार्षिर्क ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेकोे तथ्याङकमा रहेको छ । इलाम जिल्लामा २४ वटा ठूला र ४२ वटा साना चिया कारखाना सञ्चालित छन । यहाँका करिब १२ हजार कृषकले कारखानालाई चियापत्ति विक्री गर्दै आईरहेको छन ।
चिया पत्ती किसानको, मूल्य कारखाना सञ्चालक उद्योगीको
यतिबेला इलामका चिया किसान सिजनको पहिलो, हरियो चिया पत्ति टिप्न व्यस्त छन् । यहाँका धेरै मानिस चिया खेती गर्दछन् तर किसानले आफ्नो चियाको उत्पादनको मूल्य आफैले तोक्न पाएका छैन्न् । दाम तोक्न नपाउँदा उत्पादन भएको चिया पत्ति कौडीको मूल्यमा बेच्दै आएका छन् । यो समस्या किसानको मात्रै होइन्, स्व्यम उद्योगीको पनि हो । वर्षैदेखि किसानले सिजनकै राम्रो पत्तिको मूल्य आफैले तोक्न पाएका छैनन् ।
कारखानाले पत्ति लिएको लामो समयपछि मात्रै मूल्य निर्धारण गरिदिने गरेको छ । किसानहरू संगठित हुँन नसक्दा लामो समयपछि कारखानाले आफूखुसी दाम दिने गरेका छन् । कारखानाले जति दाम दियो त्यतिमै चित्त बुझाउँनु पर्ने बाध्यता छ । पहिल्यै पत्ति दिएपछि कारखानाले दिएको दाम किसानले स्वीकार्नुको विकल्प नै छैन । मुनाफा उद्योगीले कमाउँछ भने किसानले बर्षेनी चियाको बुट्टा–बुट्टामा परिश्रमको पसिना बगाउँछ । चिया किसानको विषयमा स्पष्ट सरकरी नीति नहुँदा लागत अनुसार आफ्नो उत्पादनको मूल्य राख्न पाएका छैनन् । कारखाना सञ्चालक उद्योगीले तोकेको मूल्यमा चित्त बुझाउँनु परेको किसानहरु बताउछन् ।
कारखानाले सबै भन्दा बढि मूल्य दिने सिजनको पहिलो टिपाईको हरियो पत्तीको मूल्य निर्धारणको विषयमा किसान बेखर जस्तै छन् । गत सालको जस्तै मूल्य पाउँने आशामा कारखानलाई हरियो पत्ति बुझाइ रहेको चिया किसान कमल घिमिरेको भनाई छ ।
सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । भारतीय अक्सन बजार मूल्यको आधारमा हरियो पत्तिको मूल्य निर्धारण गर्नु पर्ने भएकोले शुरूमै दाम यकिन गर्न नसकिने कारखाना सञ्चालक उद्योगीहरूको भनाई छ । गतसाल कारखानाले पहिलो टिपाइको हरियो पत्तिको मूल्य प्रतिकेजी ९० देखि एक सय बढिमा विक्री गरेका किसानले यो बर्ष पनि सोही दामको अपेक्षा गरेका छन् । जिल्लामा करीब चार करोड पाँच लाख किलो बढी चिया उत्पादन हुने गरेको तथ्याङ्क छ । नेपालका ७७ जिल्लामध्ये १३ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ ।




















