सत्ता समीकरणमा ‘साँचो’ जसपासँग, अन्योलमा राजनीतिक निकास।

[ केशव सावद ] 

काठमाडौं:= प्रतिनिधिसभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा औपचारिक रूपले आधिकारिक धारणा बनाउन नसक्दा नयाँ सत्ता समीकरणको राजनीतिले निकास पाउन सकेको छैन । ओली नेतृत्वको सरकारप्रति ‘विश्वास छैन’ भन्ने भन्दै आएको जसपाले औपचारिक रूपले आधिकारिक धारणा सार्वजनिक नगर्दा नयाँ सत्ता समीकरणको राजनीतिले निकास पाउन सकेको हो ।

पछिल्लो समय सत्ता समीकरणमा ‘साँचो’ को रूपमा हेरिएको जसपा नयाँ सरकार निर्माण र सरकार ढाल्ने खेलमा निर्णायक बनेको छ । तर, जसपाले नयाँ सरकार निर्माणमा सघाउने कि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि सघाउने भन्ने विषयमा प्रष्ट धारणा भने बनाउन सकेको छैन ।

जसपाका पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैतिर तानातानमा पर्नुभएको छ । पार्टीभित्र नयाँ सरकार निर्माणको विषयमा दुई कित्ता देखिएका छन् । एउटा कित्ताको नेतृत्व ठाकुर र अर्को कित्ताको नेतृत्व यादवले गरिरहनुभएको छ । सत्ता समीकरणको ‘साँचो’ बनेपछि जसपाले उठाएको माग पूरा गर्न ओली सरकारले प्रक्रिया अघि बढाएको छ । कुनै समयमा तराई–मधेस केन्द्रित दलहरूले उठाएका मागका बारेमा सुन्नै नचाहने प्रधानमन्त्री ओलीले पछिल्लो समयमा जसपाले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाउनुभएको छ ।

प्रधानमन्त्रीले जसपाका माग पूरा गर्न एउटा कार्य दलसमेत गठन गर्नुभएको छ । कार्यदलमा जसपाबाट नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई राखिएको छ । जसपा सरकारमा सहभागी भएमा या समर्थन गरेमा महŒवपूर्ण मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार रहनुभएको जसपाका नेताहरूको भनाइ छ ।

उता जसपाका अर्का अध्यक्ष यादव नेकपा माओवादी केन्द्रसँग निकट देखिनुभएको छ । सत्ता समीकरणको निर्णायक बने पनि जसपा आन्तरिक विवादमा फसेको छ । जसपा स्पष्ट रूपमा दुई कित्तामा बाँडिएको छ ।

अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई ओली नेतृत्वको सरकारको विकल्पको पक्षमा देखिनुभएको छ भने अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माग पूरा भए अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिनुभएको छ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि दुई दलका संसदीय दलको समायोजन हुन सकेको छैन । अहिले पनि तत्कालिन राजपा र तत्कालीन समाजवादीको संसदीय दल अलग अलग छन् । सिंहदरबारमा अलग–अलग ठाउँमा संसदीय दलका कार्यालय राखिएका छन् । राजपाका संसदीय दलको नेता ठाकुर र समाजवादीका संसदीय दलका नेता यादव हुनुहुन्छ । दुवै पार्टीमा अलग–अलग संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ ।

ओली नेतृत्वको सरकारका बारेमा आधिकारिक धारणा बनाउन र पार्टीभित्र देखिएको विवाद समाधानका लागि जसपाले गत चैत ६ गते केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।

सरकारका बारेमा पार्टीको आधिकारिक धारणा तय नभएको जानकारी दिँदै जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भन्नुभयो, ‘आधिकारिक धारणा यो हो भन्नका लागि पार्टीको औपचारिक बैठक कि त ५१ जनाको कार्यकारिणी समितिको कि त ८०१ जना केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘गत चैत ६ गते बैठक राखिएको थियो पनि, हठात् स्थगन गरियो । फेरि बैठकको अर्को मिति तोकिएको छैन ।’

उहाँले पार्टीभित्र विवाद रहेकोसमेत स्वीकार गर्नुभएको छ । ‘लुकाउनुपर्ने, ढाकछोप गर्नु पर्ने कुनै आवश्यकता, कुनै ठाउँ बाँकी रहेन । जनता समाजवादी पार्टीको आन्तरिक असजिलो अब जसपाको आन्तरिक विषय मात्र रहेन । यो राष्ट्रिय राजनीतिकै सर्वाधिक चासो र चिन्ताको विषय बन्न पुग्यो,’ प्रचार विभाग प्रमुख खतिवडाले भन्नुभयो ।

ओली नेतृत्वको सरकारलाई समथर्न दिनु भनेको विगत तीन वर्षमा सरकारले गरेका ‘कुकर्म’ लाई अनुमोदन गर्नु हुने उहाँको भनाइ छ । ‘जसपाले ओली सरकारलाई समर्थन दिनु भनेको विगत तीन वर्षमा विशेषतः गत वैशाख ८ गते यताका उसका सबै कुमर्मलाई अनुमोदन गर्नु हो,’ खतिवडाले भन्नुभयो, ‘यति, ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचार ठीक थियो भन्नु हो । कोरोना लकडाउनकालको असंवेदलनशीलता र लापरबाही ठीक थियो भन्नु हो । सेक्युरिटी प्रेसमा ७० करोडको कमसिन भाग्ने ‘धर्मपुत्र छनौट’ ठीक थियो भन्नु हो । गत बैशाख ८ गतेपछि आफ्नै पार्टी फुटाउने गरिएको हर्कतहरू ठीक थिए भन्नु हो ।’