काठमाडौं := नेपालको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबिच भएको गोप्य सहमति भन्दै समाचार प्रकाशित गर्ने विभिन्न ७ वटा समाचार अनलाइन (न्युज पोर्टल)ले सार्वजनिक रूपमा माफी मागेका छन्।
प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण सोधेपछि उज्यालो नेटवर्क, समाचार दैनिक, नेपाली गाथा, पर्दाफास, पिएलए खबर, कान्तिपथ र सुदर्शनखबर डटकमले प्रेस काउन्सिल नेपालमै आएर आफु र आफ्नो मिडिया बाट गल्ती भएको स्विकार्दै सार्वजनिक रुपमै माफी मागेका हुन्।
ती अनलाइनले भुलसुधार गरी, आगामी दिनमा आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै स्पष्टीकरण पेस गरेको काउन्सिलका सूचना अधिकारी (उपप्रशासकीय अधिकृत) रामशरण बोहराले जानकारी दिनुभयो । ‘अनअफिसियल ट्रान्सलेसन’ डकुमेन्टलाई आधार बनाई ‘प्रधानमन्त्री के.पी. ओली र रअबीच भएको सहमति…’ भनी उल्लेखित अनलाइनले समाचार प्रकाशित गरेका थिए।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा ७ वटै न्युज पोर्टलका सञ्चालक÷सम्पादकलाई छिट्टै नै पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने छ ।’ आगामी दिनमा ती समाचार अनलाइनमा प्रकाशित समाचारमा विशेष निगरानी राख्ने र अभिमुखीकरणमा सहभागी गराउने काउन्सिलको विज्ञप्तिमा उल्लेख छ । ‘प्रेस काउन्सिल नेपालले अब उप्रान्त पनि ती न्युज पोर्टलबाट सम्प्रेषण हुने सामग्रीको विशेष अनुगमन गर्ने छ’ सुचनामा उल्लेख छ।
काउन्सिलले प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीबाट सम्पादकको घर तथा सञ्चारमाध्यम कार्यालय खानतलासी गरी धम्की दिएको तथा सोसम्बन्धमा पत्रकारसम्बन्ध विभिन्न सङ्घ/संस्थाबाट विज्ञप्ति जारी भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘कहीँकतैबाट प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिनु संविधान, कानुन विपरीत हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन प्रेस काउन्सिल नेपाल सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ।




















