काठमाडौं := माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले सूचना जारी गरि थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । सकेहिश पत्रका आधारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो।
एमालेतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि थापाको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको हो। थापाको पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ। सांसद पद गुमे पनि पुनः शपथ लिएर थापा ६ महिनाका लागि मन्त्री बन्न सक्नेछन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।




















