म सायद गीतसंगीतकै लागि जन्मिएकी हुँ : गायिका पूर्णिमा लामा।

बुबा रामचन्द्र तामाङ र आमा कान्छीमाया तामाङकी कान्छी सुपुत्रीका रूपमा धादिङ जिल्ला (साविक बैरेनी गाविस) हाल गल्छी गाउँपालिका वडा–७ मा जन्मिनुभएकी पूर्णिमा लामा यतिबेला गीतसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ । गीतसंगीत भनेपछि सानैदेखि हुरुक्क हुनुहुने उहाँले नौ वर्षको उमेरदेखि स्कुलमा आफ्ना साथीभाइमाझ तथा गाउँघरमा हुने हरेक गायन प्रतियोगितामा सहभागिता जनाउने गर्नुहुन्थ्यो । यतिबेला काठमाडौंलाई कर्मथलो बनाउँदै गायन क्षेत्रमा आफ्नो समधुर स्वरमार्फत् श्रोता÷दर्शकको मन जित्न सफल हुनुहुन्छ पूर्णिमा । उहाँका ‘फूल भनुँ जिन्दगीलाई’, ‘तिम्रो एउटा झुटले’, ‘मुटु जलि खरानी भो’, भाग्यले नि छल्छ भन्थे’, ‘ओइलिएको फूल यो’, ‘आज मेरो जिन्दगानी’, ‘बन्दुक र गोली बोकेर झोला’, ‘एकपल्ट भन न तिमी मेरो बन न’लगायतका गीत श्रोता÷दर्शकमा लोकप्रिय छन् । हालसम्म चार सयभन्दा बढी गीत श्रोता÷दर्शकमाझ पस्किसकेको दाबी गर्नुहुने पूर्णमासँग सञ्चारकर्मी कृष्ण भुसालले गर्नुभएको कुराकानीः–

व्यस्त हुनुहुन्छ ?

व्यस्तभन्दा पनि आफ्ना कर्महरूमा अग्रसर भएर लागिरहेकी छु । गीतसंगीतकै कर्महरूमा आफूलाई संलग्न गराउँदै आएकी छु । यससँग सम्बन्धित संघसंस्थाका विभिन्न कार्यमा आफूलाई जोड्दै आएकी छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ? 

गीतसंगीत भनेपछि म सानैदेखि हुरुक्क हुन्थें । म यस्तै नौ वर्षको उमेरदेखि नै स्कुलमा आफ्ना साथीभाइमाझ तथा गाउँघरमा हुने हरेक गायन प्रतियोगितामा सहभागिता जनाउथेँ । फेरि मेरो पारिवारिक माहौल पनि संगीतमय थियो । परिवारका सबै सदस्यहरूमा संगीतप्रति सकारात्मक सोचाइ भएकाले सांगीतिक यात्राको सुरुवात गर्न मलाई सहज भयो । म २०७२ सालमा दश कक्षासम्मको पढाइ पूरा गरी सांगीतिक क्षेत्रमै सुनौलो भविष्य खोज्दै काठमाडांै आइपुगें । यसपछि मैले उच्च शिक्षासँगै आफ्नो पढाइसँगै गायनलाई निरन्तरता दिएँ ।

हालै सम्पन्न ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ मा सुगम संगीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल हुनुभयो नि ?

हो, गत चैत २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाडौंमा एक विशेष समारोहबीच मलाई ‘मुटु जलि खरानी भो’ गीतमार्फत् अवार्ड प्रदान गरियो । यो गीतलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गर्नलायक सम्झिनुभएकोमा आयोजक तथा निर्णायक मण्डललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

अहिलेसम्म कति जति गीत गाउनुभएको छ ? 

थुप्रै गीत भएका छन् । हालसम्म झण्डै चार सयभन्दा बढी गीत गाइसकेकी छु होला ।

कति गीतहरू सम्झना छ ?

म आफूले गाएका कुनै गीत भुल्दिनँ । सबै गीत मन लगाएर गाएकी छु । बिर्सने कुरै आउँदैन ।

यस क्षेत्रमा लाग्छु भन्ने योजना कहिलेबाट बन्यो ?

म यो क्षेत्रमा यसरी जोडिएँ कि यसबाट टाढा हुने कल्पनासम्म पनि रहेन मसँग । स्कुल पढ्दादेखि नै लागें म यस क्षेत्रमा । योजना बनाएर होइन । म सायद गीतसंगीतकै लागि जन्मिएकी हुँ । म यस क्षेत्रबाट टाढा जाने कल्पना पनि गर्न सक्दिनँ । अब त गीतसंगीतबिना बाँच्नै सक्दिनँजस्तो लाग्न थालेको छ । मेरो जीवन संगीतप्रति समर्पित गरिसकेकी छु । संगीत एउटा यस्तो चिज पनि हो, जसले सबैलाई बाँधेर राख्न सक्छ ।

धेरैजसो कस्ता गीत मन पर्छ र कस्ता गीत गाउनुहुन्छ ?

मलाई सानैदेखि सुगम संगीतमा अलिक बढी रुचि थियो । मैले सानैदेखि हरेक प्रस्तुतिमा यस्तै प्रकारका गीतहरू बढी गाउथेँ । मेरो स्वरमा रेकर्ड भएका गीतमा आधुनिक गीतहरू नै बढी छन् । प्रायः मेलोडियस गाउँछु । मलाई मेलोडियस मन पर्छ ।

राज्यले गीतसंगीत क्षेत्रलाई के गरोस् जस्तो लाग्छ ? 

नेपाली गीतसंगीत क्षेत्र व्यापक हुँदै गएको छ । हरेक वर्ष यो क्षेत्रमा ठूलो लगानी भइरहेको छ । लाखांै खर्च गरेर भिडियो निर्माण भइरहेका छन् । यो एउटा राम्रो व्यवसायका रूपमा आएको छ । यतिबेला यही क्षेत्रबाट सयौंले आफ्नो जीविकोपार्जनका साथै नाम कमाइरहनुभएको छ । यो क्षेत्रलाई राज्यले विशेष रूपमा हेर्नु जरुरी छ । एउटा नियमन निकाय बनाएर विशेषरूपमा यो क्षेत्रमा राज्यले ध्यान पु¥याउनुपर्छ । विभिन्न संघसंस्थाबाट यस क्षेत्रलाई सवल बनाउने प्रयास त भएको छ तर त्यो पर्याप्त छैन ।

अबका योजना ?

दर्शक-श्रोतामाझ निरन्तर सांगीतिक कोसेली पस्कँदै अगाडि बढ्ने योजना छ । मेरो जीवनको लक्ष्य सांगीतिक क्षेत्रमा निरन्तर लागेर एउटा स्थापित गायिका बन्नु नै हो ।