बिरगंज:= गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यति बेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् ।
चैत ३१ गते पोजेटिभ रिपोर्ट आएका २५ जना होम आइसोलेसन वा अस्पताल कहाँ बस्ने भन्ने टुंगो लागेको छैन । नारायणी अस्पतालका कोभिड–१९ कोडिर्नेटर डा. सरोज रोशन दासका अनुसार नारायणी अस्पतालको आइसोलेसनमा राखिएका १५ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
सात जना अहिले पनि अस्पतालमै उपचाररत छन् ।पोहोर यही समयमा पर्सा आसपासमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको थियो । चैतको अन्तिम साताबाट शुरु भएको कोरोना कहरले भदौको अन्तिमसम्ममा वीरगन्जलाई तहसनहस बनायो । करिब पाँच महिना मात्रै सामान्य रहेको वीरगन्जको जनजीवनमाथि फेरि कोरोनाले धावा बोल्न थालेको छ । पछिल्लो चार दिनमा वीरगन्जमा कोरोनाबाट चार जनाको ज्यान गएसँगै थप त्रास उत्पन्न भएको हो ।
वीरगन्जको नारायणी अस्पतालमा बिहीबार उपचारका क्रममा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२ छपकैयाकी ४२ वर्षीया महिलाको बिहान ८ बजेर १६ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि गत चैत २९ गते राति नारायणी अस्पतालमा भर्ना भएकी महिलाको चैत ३० गते पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो ।
शुरुको दिनदेखि नै स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको ती महिलाको अस्पतालमा रहेको कोभिड आईसीयू वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ । महिलाको मृत्युसँगै पर्सामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । नारायणी अस्पतालमा संक्रमणका कारण ३ दिनयता दुई पुरुष र एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा तीव्ररूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर वीरगन्जमा पर्ने र विगतमा जस्तै फेरि वीरगन्ज कोरोनाको हटस्पष्ट बन्ने आशंका यतिखेर वीरगन्जमा व्याप्त भएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको अवस्था अहिले होइन तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि उस्तै समस्या दोहरिने उत्तिकै जोखिम देखिएको छ ।
गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगन्ज हेल्थ केयर र नेसनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टरको व्यवस्था गरेका थिए । तर, अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसनबाहेक अरु कुनै पनि आइसोलेसन सेन्टर सञ्चालनमा छैन ।आजको नेपालसमाचारपत्र दैनिकमा खबर छ




















