अमेरिकाले भारतलाई हेप्यो

एजेन्सी := अमेरिकाले भारतलाई हेपेको छ । अमेरिकाले बिना पूर्व सूचना भारतको विशेष आर्थिक क्षेत्रमा हस्तक्षेप गर्दै कुनै पनि पूर्व अनुमति बिना यस क्षेत्रमा अभयास गरेको बताएको छ। अमेरिकाले समुद्रमा आवतजावतको स्वतन्त्रता अर्थाथ फ्रिडम अफ नेभिगेसनको प्रयोग गर्दै भारतीय क्षेत्रमा अभ्यास गरेको बताएको छ । अमेरिकी नौसेनाले यसको घोषणा गरेसँगै भारतले यसको जाँच गरिरहेको जनाएको छ ।

समाचार एजेन्सी आइएएनएसका अनुसार एक भारतीय अधिकारीले यो सामान्य आवतजावत भए कुनै आपत्ति नहुने तर यो बिना सूचना गरिएको अपरेशनल एक्सरसाइज भएमा यसलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइने बताएका छन् । अमेरिकाले ७ अप्रिलमा जारी गरेको आधिकारिक बयान अनुसार अमेरिकी युद्धपोत युएसएस जोन पल जोन्सले समुद्रमा आवागमनको स्वतन्त्रताको प्रयोग गर्दै लक्ष्यद्विपबाट १३० नटिकल माइल पश्चिममा पट्रोलिङ गरेको थियो । यो भारतको विशेष आर्थिक क्षेत्र हो ।

अमेरिकाले जारी गरेको बयानअनुसार यो पट्रोलिङ भारतसँग पूर्व स्वीकृति नलिइ गरिएको थियो । ‘भारतले आफ्नो विशेष आर्थिक क्षेत्र वा महाद्विपीय शेल्फमा सैन्य अभ्यासको लागि पूर्व स्वीकृति लिनुपर्ने बताउँछ जो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो’ अमेरिकाले जारी गरेको बयानमा भनिएको छ । भारतीय अधिकारीहरुले अमेरिकाको तर्फबाट यस्तो बयान जारी हुनु आश्चर्यजनक भएको बताएका छन् ।

भारतीय कानुनअनुसार भारतको विशेष आर्थिक क्षेत्र वा समुद्री क्षेत्रमा २ सय नटिकल माइलको दूरीसम्म कुनै पनि गतिविधिको लागि पूर्व स्वीकृति लिनुपर्छ । अमेरिकाले समुद्रमा स्वतन्त्रतापूर्वक आवागमन गर्न पाउने अधिकार प्रयोग गरेर भारतले समुद्री क्षेत्रमा गर्ने दावीलाई चुनौती दिइएको बताएको छ । अमेरिकाले विगतमा पनि आफूले यस्तो गरिरहेको र भविष्यमा समेत गरिरहने भन्दै भारतलाई ठाडो चुनौती दिएको छ ।