थारू गाउँको झल्को दिने ‘उन्नति कल्चरल भिलेज’

[ निर्भीक रायमाझी/अनलाईन खबर ] 

चितवन := चितवनबाट महेन्द्र राजमार्ग हुँदै पश्चिम जाँदा गैँडाकोटमा घना लिचीको बगैंचा छ । बगैँचाभित्र चिटिक्क पारेर सिंगारिएका झुप्रा घर देखिन्छन् ।

भरतपुरबाट १२ किलोमिटर दूरीमा रहेको यो ठाउँमा पुग्ने आगन्तुक सुरूमा कुनै जमीनदारको बगैंचा हो कि ठानेर झुक्किन्छन् । तर यो कुनै जमीनदार वा ‘साहु-महाजन’को बगैंचा होइन । यो त चौधरी फाउण्डेसनले निर्माण गरेको ‘उन्नति कल्चरल भिलेज’ हो । नेपाली भाषामा यसलाई ‘सांस्कृतिक ग्राम’ भनिएको छ ।

यही सांस्कृतिक ग्राममा गत फागुन २८ र २९ गते ‘फाइन प्रिन्ट फिभर, घुम्ती साहित्य महोत्सव’ सम्पन्न भयो । त्यस अवसरमा यही भिलेजमा देशका चर्चित लेखक, पाठक र स्थानीयको जमघट भयो । महोत्सवमा लेखकहरूबीच अन्तरक्रिया, पुस्तक प्रदर्शनी र नाटक प्रदर्शन गरियो ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरी महोत्सवका दुवै दिन कल्चरल भिलेज परिसरमै भेटिए । त्यहाँ उपस्थित लेखक, कलाकार र स्थानीयसँग चौधरीले कुराकानी गरे ।

उसो त थारू संस्कृति झल्काउने यो सांस्कृतिक ग्राम धनाढ्यहरूले बनाएको रिसोर्टजस्तो लाग्न सक्छ । तर धन हुँदैमा सबै कुरा सम्भव नहुने उद्योगपति विनोद चौधरीले सांस्कृतिक ग्राममा आयोजित बहस कार्यक्रममै जिकिर गरिरहेका थिए । विनोदका अनुसार इच्छाशक्ति र आवश्यकताबोधले मात्रै कुनै पनि कुरा सम्भव हुन्छ ।

नेपालको बहुलता समेट्ने गरी सांस्कृतिक ग्राम निर्माण शुरू गर्ने उद्देश्यका साथ उन्नति कल्चरल भिलेज निर्माण गरिएको चौधरीले बताए । उनकै सक्रियतामा गैरनाफामूलक संस्थाका रूपमा उन्नति कल्चरल भिलेज बनाइएको हो ।

थारू गाउँको जीवन्तता !

उन्नति कल्चरल भिलेजका सीईयो नारायण श्रेष्ठ भन्छन्, ‘कल्चरल भिलेजलाई थारू गाउँको पर्याय बनाउन खोजेका हौं । यहाँका सम्पूर्ण संरचना थारू गाउँको चित्रण गर्ने शैलीमा बनाइएको छ । थारू घर, थारू भान्सामा प्रयोग हुने भाँडाकुँडा, आँगन-फलैंचा, भेषभूषा र कलाहरू यहाँ दुरुस्तै राखिएका छन् ।’

उन्नति कल्चरल भिलेजलाई थारू गाउँको पर्याय बनाउन खोजेको बताउँछन् उन्नति कल्चरल भिलेजका सीईयो नारायण श्रेष्ठ । चौधरी ग्रुपमा कार्यरत श्रेष्ठका अनुसार सम्पूर्ण संरचना थारू गाउँको चित्रण गर्ने शैलीमा बनाइएको छ ।

थारू घर, थारू भान्सामा प्रयोग हुने भाँडाकुँडा, आँगन-फलैंचा, भेषभूषा र कलाहरू यहाँ दुरुस्तै राखिएका छन् । यस्तै खर तथा फुसले छाएका स-साना घरहरू छन् । थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन् । चित्रकलामा थारू जातिका विभिन्न मेला-महोत्सव र पर्वबारे जानकारी उल्लेख छ। थारू जातिका दैनिकी झल्किने वस्तु छन् ।

‘हामीले सम्पूर्ण रूपमा थारू संस्कृति प्रकट हुने गरी कल्चरल भिलेज बनाउने प्रयास गरेका छौं । त्यहीअनुसार विज्ञ तथा कलाकर्मी (मास्टर आर्टिस्ट)सँग सहकार्य गरेका छौं’, सीईयो श्रेष्ठले भने ।

नवलपुरमा अन्य जातिभन्दा थारूहरूको बसोबास बाक्लो छ । त्यसबाहेक माझी, भोटे, दराई पनि यस जिल्लामा छन् । यी सबै जातिको प्रतिनिधित्व हुने गरी सांस्कृतिक ग्राममा थप काम गर्ने लक्ष्य राखिएको छ ।

सीईयो श्रेष्ठका अनुसार दराई जातिमा विशेष प्रकारको जाँड बनाइने गरिन्छ । ‘उक्त जाँड दुई वर्षपछि विशेष अवसरमा मात्र खोलेर खाइनेरहेछ’ श्रेष्ठ भन्छन्, ‘यस्ता विशेष स्थानीय स्वाद र परिकार पनि उन्नति भिलेजमा राखिनेछ ।’

अहिले थारूबाहेक आधुनिक बार र रेष्टुराँ पनि यो सांस्कृतिक ग्रामभित्र सञ्चालनमा छन् । आगन्तुकले आफूलाई आधुनिक होटल वा थारू भान्सामध्ये जुन उपयुक्त लाग्छ त्यही प्रयोग गर्न सक्छन् । सांस्कृतिक ग्राममा रहेको चित्रकला, मूर्तिकला तथा सजावट अवलोकन गर्न सक्छन् ।

विभिन्न संघ-संस्थाले सेमिनार गर्न सक्ने सुविधा पनि छ । यहाँ आधुनिक थिएटरसहित सुविधासम्पन्न सभाहल पनि बनाइएको छ । यसबाहेक फूलबारी र हरियाली बगैंचाले सांस्कृतिक ग्रामलाई मनमोहक तुल्याएको छ ।

उन्नति कल्चरल भिलेजभित्र काम गर्ने कर्मचारी पनि धेरैजसो स्थानीय नै राखिएका छन् ।

कला-कुञ्जको अवधारणा

उन्नति कल्चरल भिलेजको अवधारणा एक दशकअगाडि नै बने पनि निर्माण प्रक्रिया पाँच वर्ष अगाडिदेखि शुरु गरिएको हो । अहिले पनि यसको भित्री डिजाइन निर्माणाधीन छ ।

सांस्कृतिक ग्रामको निर्माण कार्यमा इन्जिनियरदेखि थारू संस्कृतिका विज्ञले कर्मचारीको रूपमा काम गरे । फागुनमा भएको फाइनप्रिन्ट फिभरमा लेखकहरू पुग्दा कल्चरल भिलेजका कलाकारहरू मूर्ति बनाइरहेका थिए । सोही अवसरमा त्यहाँ ग्यालरीको पनि उद्घाटन गरियो । ग्यालरी उद्घाटनको दिन काठमाडौंबाट कलाकारहरूको एक टोली पुगेको थियो ।

काठमाडौंबाट उन्नति भिलेज पुगेकी कलाकार एरिना ताम्राकार सांस्कृतिक ग्राम पुग्दा गाउँ पुगेको जस्तै महसूस भएको सुनाउँछिन् । भन्छिन्, ‘एकै ठाउँमा कला, साहित्य, संस्कृति तथा संगीतको संयोजन गरिएको छ । यसैले सांस्कृतिक ग्राम आउने पर्यटकहरूले नेपाली कलाको प्रत्यक्ष अवलोकन गर्न सक्छन् ।’

नेपालको सन्दर्भमा कल्चरल भिलेजको अवधारणा नयाँ भए पनि त्यसले दिने सन्देश महत्त्वपूर्ण रहेको एरिनाको मत छ ।

सीईयो नारायण श्रेष्ठ भन्छन्, ‘हामीले कला र संस्कृतिको प्रतिनिधित्व गरी हस्पिटालिटी सेवा दिने व्यवस्था गरेका छौं । जसले सामान्य मानिसदेखि कलाप्रेमीसम्मलाई आकषिर्त गर्न सक्छ ।’

६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । कला र साहित्यको प्रवर्धनका लागि कला-केन्द्र बनाइएको छ । कलाघरमा सर्जकहरू आएर सिर्जना गर्न सक्ने व्यवस्था गरिएको छ

सांस्कृतिक ग्राममा अहिले आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेस्ट स्पेस र एक्पिरियन्सलगायतका सामग्री छन् । आर्टस् एण्ड क्राफ्टअन्तर्गत सम्पदा (आर्ट ग्यालरी), रंगमञ्च (एमपी-थिएटर) बाटिका (गार्डेन अफ आर्टस्), निशर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) छन् ।

कल्चरअन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) छन् । गेस्ट स्पेसअन्तर्गत कला घर (आर्ट होटल) बोधि कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आतिथ्य (मल्टिपर्पोज ब्लक) छन् ।

एक्पिरियन्सअन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, इथनिक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् । सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ । यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । यहाँ थारू परिकारसँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइने संस्थाले जनाएको छ ।

सांस्कृतिक भिलेजले यहाँभित्रका घर, बगैंचा, नाटकघर, परिकारलाई आफैंले आधुनिक र रैथाने नाम दिएको छ । जसले गर्दा पर्यटकले नयाँ संस्कृति सजिलै बुझ्न सक्नेछन् ।

करीब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । कला र साहित्यको प्रवर्धनका लागि कला-केन्ऽ बनाइएको छ । कलाघरमा सर्जकहरू आएर सिर्जना गर्न सक्ने व्यवस्था गरिएको छ ।

अर्गानिक खेतीपातीको प्रवर्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ ।

कालान्तरमा देशका सातैवटा प्रदेशमा ती प्रदेशको संस्कृति झल्कने सांस्कृतिक ग्राम स्थापना गर्ने चौधरी फाउन्डेसनको लक्ष्य छ ।

‘स्वदेशको प्रतिनिधित्व हुने गरी सातै प्रदेशमा यस्ता संरचना स्थापना गर्ने लक्ष्य राखेका छौं’ श्रेष्ठले भने, ‘तर सांस्कृतिक ग्रामकै उत्पादनबाट यसको सञ्चालन गर्न सके मात्र यस्ता सांस्कृतिक ग्राम चल्न सक्छन् ।’

(तस्वीरहरू : उन्नति कल्चरल भिलेजबाट प्राप्त)