आजदेखि मेलम्चीको पानी वितरण गरिदैँ, अनामनगर क्षेत्रका १६ सय धारामा चौबिसै घण्टा पानी दिइने।

काठमाडौं := आजदेखि मेलम्चीको पानी उपभोक्ताको घरघरमा पुग्दै छ । पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ ।गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट वितरण गरिनेछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको सुरु क्षमता १७ करोड लिटर हो । तर पहिलो दिन नै १७ करोड लिटर पानी नआउँने उनले बताए ।
तत्काललाई दिनको चार करोड लिटर पानी मात्रै परीक्षणका रूपमा वितरण गर्ने राईले बताए । अहिले पानी आउने सुरुङ र वितरण लाइन दुवैको परीक्षण गर्न लागिएको हो ।

यसमार्फत पानी कसरी सामानुपातिक रूपमा सबैका धारामा पुग्छ भन्ने परीक्षण पनि हुनेछ । बाँकी पानीका लागि आफ्नै स्रोत प्रयोग गरिनेछ जानकारी दिदैँ राईले करिब २० दिनभित्र १७ करोड लिटर नै पानी आउने बताए ।

अहिले नयाँ रिजर्भ ट्यांकी खुमलटारको मात्र प्रयोग हुनेछ । केयूकेएलका मीनभवन, अनामनगर, बाँसबारी, महांकालचौर, महाराजगन्ज, बालाजुलगायत स्थानका ट्यांकी प्रयोग हुनेछन् ।
उता, अनामनगर क्षेत्रमा नयाँ लाइनका १६ सय धारा छन् ।

तिनमा पाइलट प्रोजेक्टका रूपमा चौबिसै घण्टा पानी दिने योजना रहेको राईले बताए । अन्यत्र रोटेसन बेसमा वितरण गर्ने गरी तयारी उनले बताए केयूकेएलको सेवाभित्र २ लाख २५ हजार धारा छन् । पहिलो दिन नै यी सबै धारामा पानी पुर्‍याउन लागिएको उनले जानकारी दिए । नयाँ पाइप परीक्षण गर्न समय लाग्छ ।

पीआईडी र केयूकेएलले समन्वय गरेर पानी वितरण गर्नेछन् । उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर रहेकोमा ३१ करोड लिटर अपुुग छ । केयूूकेएलले दैनिक आठ करोड लिटर मात्रै वितरण गर्न सकेको छ भने निजी क्षेत्रले दैनिक करिब चार करोड लिटर वितरण गर्दै आएको छ ।

मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर आएपछि केयूकेएलको क्षमता दैनिक २९ करोड लिटर पुग्ने छ । सुक्खा सिजनमा करिब १० करोड लिटर ग्राहकका धारासम्म पानी पुर्‍याउन सकिने आयोजनाले बताएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् ।

मेलम्ची खानेपानी आयोजना २०५५/५६ बाट सुरु भएको हो । राष्ट्रिय गौरवका रूपमा रहेको यो आयोजना आर्थिक वर्ष ०७१/७२ सम्पन्न गर्ने लक्ष्य थियो । तर विविध कारणले मेलम्चीको पानी २०७७ मा मात्र आयो ।

मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ । दोस्रो चरणमा लोर्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्र्याएपछि भने दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या हल हुने अपेक्षा गरिएको छ ।