खोटाङ := प्रदेश नम्बर १ सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन भनेको कुरा,नारालाई ब्यवहारमा उतारेर यथार्थमै ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ।
स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गर्नुभएपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ।




















