बंगलादेशको विजयी सुरुवात।

काठमाडौं := नेपालमा भइरहेको त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

३० औं मिनेटमा बंगलादेशले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसलाई क्लियर गर्न खोज्दा बल किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसबाहेक दुवै टोलीले पटक–पटक पाएका मौका सदुपयोग गर्न सकेनन् । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताअन्तर्गत बुधबार नेपाल र किर्गिस्तान भिड्दैछन् । त्यसअघि युवा तथा खेलकुद मन्त्री दावा लामाले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । ७२ सालको भूकम्पपछि एन्फाले दशरथ रंगशालामा गर्न लागेको यो पहिलो प्रतियोगितासमेत हो।

थ्री नेसन्समा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नुहुनेछ । भारतीय आई लिग छोडेर किरण सोमबार नै नेपाल आइसक्नुभएको छ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनका आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते हुनेछ । विजेताले पाँच हजार र उपविजेताले तीन हजार डलर पुरस्कार पाउने एन्फाले जनाएको छ ।

एन्फाले मैदानमा उपलब्ध हुने सम्पूर्णलाई कोरोना भाइरससम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने बताएको छ । एन्फाले कोभिडको महामारीमा संक्रमणको खतरा देखिएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो ।

एन्फाले दर्शकलाई मास्क अनिवार्यसमेत गरेको छ । यस्तै सामाजिक तथा भौतिक दूरी कामय गर्न, सेनिटाइजर अनिवार्य लगाउन र तापक्रम नाप्न आग्रह गरेको छ।