काठमाडौं:= कतार विश्वकप २०२२ का छनोट प्रतियोगिताहरू सुरु हुनुअगाडि एम्नेष्टी इन्टरनेसनलले आप्रवासी श्रमिकहरू माथिको दुव्र्यवहार अन्त्य गर्न सघाउनका लागि फिफालाई कतारी अधिकारीहरूमाथि आफ्नो प्रभावको प्रयोग गर्न आह्वान गरिरहेको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई लेखिएको पत्रमा एम्नेष्टीले मानव अधिकारका जोखिमहरूलाई रोक्न, न्यूनीकरण गर्न र समाधान गर्नका लागि आफ्नो जिम्मेवारीअनुरूप गर्न र कतारलाई आफ्नो श्रम सुधारका कार्यक्रमहरू विश्वकप प्रारम्भ हुनुभन्दा अगावै पूरा गराउन आफ्नो प्रभावको पूरा मात्रालाई प्रयोग गर्न आह्वान गरेको हो ।
विश्वकप आयोजना गर्ने सम्झौताको उपाधि पाएपछि बढ्दो छानबिनको प्रतिक्रियामा कतारले हालैका वर्षहरूमा धेरै सकारात्मक सुधारहरू ल्याइसकेको छ । तर, यी सुधारहरू प्रायः राम्रोसँग कार्यान्वयन हुँदैनन् र हजारौं आप्रवासी श्रमिकहरूमाथि शोषण र दुव्र्यवहार जारी रहेको एम्नेष्टीले उल्लेख गरेको छ ।
भर्खरै कतारको शुरा काउन्सिल भनिने एउटा सल्लाहकारी निकायले केही सिफारिसहरू पेश गरेको छ जसलाई यदि सरकारले स्वीकार गरेमा पछिल्ला सुधारले ल्याएका धेरैजसो प्रगतिहरू उल्टिनेछन् र श्रमिकहरूको काम परिवर्तन गर्ने र देश छोड्ने अधिकारमा पुनः प्रतिबन्ध लाग्नेछ ।
‘कतारको श्रमशक्तिको ९५ प्रतिशत हिस्सा रहेको आप्रवासी श्रमिकहरू बिना यो विश्वकप सम्पन्न हुने सम्भावना छैन । रंगशाला र सडकदेखि आतिथ्यता र सुरक्षा क्षेत्रसम्ममा हजारौं माइलको यात्रा गरी आफ्नो परिवार धान्नका लागि आएका पुरुष र महिलाको कडा परिश्रममा यो प्रतियोगिता निर्भर छ ।
तर, प्रायः यी श्रमिकहरू कतारमा आफ्नो समय अझै पनि दुव्र्यवहार र शोषणले परिभाषित रहेको पाउँदछन्,’ एम्नेष्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्यायका प्रमुख स्टिब कक्बर्नले भन्नुभएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरूअन्तर्गत विश्वकपका प्रतियोगिताहरूबाट उत्पन्न हुने मानव अधिकारका जोखिमहरूलाई न्यूनीकरण गर्ने दायित्व आयोजक निकायको नाताले फिफामा रहेको छ । यसमा खेलहरू सञ्चालनलाई सहज पार्न व्यापक रूपमा विस्तार गरिएका आतिथ्यता र यातायात उद्योगका श्रमिकहरूमा हुने जोखिम पनि समावेश छ।
यो हप्ता हुने छनोटका खेलहरूले कतारलाई दबाब दिने फिफाका अवसरहरू बन्ध भइरहेको सम्झना गराउँदछ । फिफाले विश्वकप २०२२ लाई श्रम दुव्र्यवहारको दागले धुमिल भएको प्रतियोगिता नभएर एउटा गर्व गर्नलायकको प्रतियोगिता हो भन्ने सुनिश्चत गर्न कदम चाल्नुपर्दछ, एम्नेष्टीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।



















