रंगशाला निर्माण सहयोगार्थ मेची महाकाली अभियान धुर्मुसले गरे सुरु।

कञ्चनपुर := चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मेची महाकाली अभियान सुरु भएको छ । मंगलबार (चैत १०)बाट सुदुर पश्चिमको कञ्चनपुरबाट यात्रा सुरु गरिएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा निर्माण भइरहेको क्रिकेट रंगशालाका लागी आर्थिक अभाव भएकाले घरदैलो कार्यक्रम राखिएको फाउण्डेशनले जनाएको छ । यस अभियानमा बिभिन्न जिल्लामा पुगि स्थानिय निकाय, संघसंस्था तथा ब्यक्तिलाई पनि भेटिने फाउण्डेशनका अध्यक्ष कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिनुभयो।

‘हाम्रो यो अभियानको मुख्य उद्देश्य भनेको सम्पुर्ण नेपालीलाई यो परियोजनामा जोड्नु हो । महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर रंगशालाको पिचमा राख्ने योजनामा छौं । यो क्रममा बिभिन्न जिल्लामा पुगेर बिभिन्न सहयोगी मनलाई भेट्ने छौं ।’ धुर्मुसले कञ्चनपुर आएर भन्नुभयो । ‘सहयोग गर्न सबैजना चितवन पुग्न सक्नुहुन्न, त्यसैले हामीले जिल्ला जिल्लामा पुग्ने योजनाका साथ आज कञ्चनपुरबाट यात्रा सुरु गरेका हौं ।’ अभियान महाकाली नदीको किनारबाट सुरु गरियो।

रंगशालामा ७७ वटै जिल्लाका कक्ष (कोठा) बनाइनेछ । त्यसैका लागी पनि जिल्ला जिल्लामा पुगेर त्यहाँ रहेका साँस्कृतिक, धार्मिक स्थलहरुको पनि अवलोकन गरिने बताइएको छ । रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागिएको अभियानमा सहभागि कलाकार अर्जुन घिमिरे (पाडेँ)ले बताउनु भयो ।

महाकाली कन्चनपुरमा चैत १० र ११ गते रहने र अन्य दिन कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर हुँदै चितवनसम्म पुगेपछि छ । दोस्रो चरणमा यो अभियान पश्चिममा सुरु हुनेछ । पुन पर्वी जिल्लातिर जानेछ।

यस अभियानमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल सहित नागरिक समुहका अध्यक्ष निगम हुमागाई, लोकपृय हास्य कलाकार अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ता अर्जुन भुसाल, मिडियाकर्मी गोपिकृष्ण चापागाईं, मोहन भुसाल, अभियान्ता अनिस लामिछाने र दिनेश धिताल रहनु भएको छ।

२० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर सहितको लागत खर्च ३ अर्ब ५५ करोड रहने बताइएको छ । जस अन्तर्गत अहिलेसम्म ४३ करोड रुपैंया खर्च भइसकेको र सहयोग रकम स्वरुप ३३ करोड रकम संकलन भएको फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिनुभयो । बाँकी उधारोमै काम अगाडी बढाइएको बताइयो।