एफसी चितवनको प्रशिक्षकमा केसी र मार्की खेलाडीमा भरत खवास।

काठमाडौं:= नेपाली फुटबलको इतिहासमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले मार्की खेलाडीका रूपमा भरत खवासलाई अनुबन्ध गरेको छ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिको एफसी चितवन टिमको बुधबार राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवाससँग सम्झौता गरेको हो ।

पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रालिका प्रबन्ध निर्देशक सचिन ढकाल र मार्की खेलाडी भरत खवासबीच हस्ताक्षर भयो । सोही कार्यक्रममा कम्पनीले मुख्य प्रशिक्षक मेघराज केसी, सहायक प्रशिक्षक शैलेश कर्मचार्यसँग पनि हस्ताक्षर ग¥यो । हस्ताक्षर कार्यक्रममा गेम अन प्रालिका प्रबन्ध निर्देशक ढकालले विश्वकपमा अर्कै देशको टिमलाई समर्थन गर्दै खेलको मनोरञ्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्न आफूहरूले फुटबलमा लगानी गरेको बताउनुभयो ।

उहाँले खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौता कार्यक्रममा मुख्य प्रशिक्षक मेघराज केसीले नेपालमा व्यावसायिक फुटबलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसले देखाएको स्वस्फुर्त इच्छाले अब नेपाली फुटबल खेलको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज केसी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्को प्लेयर भरत खवास एवं आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ, पर्यटन, सूचना प्रविधि, ऊर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउण्डेसनमार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।

नेपालमा पहिलोपटक हुन लागेको शहरमा केन्द्रित टोलीहरूको फ्रेन्चाइजी प्रतियोगिताको एउटा टिममा बढीमा २० खेलाडी राख्न पाउने प्रावधान छ । मार्की खेलाडीले बाँकी खेलाडीहरू छनोटको योजना बनाउनेछ । शुक्रबार हुने खेलाडी बोलकबोलबाट टोलीले अन्य खेलाडीहरू लिनेछन् । जसमा तीन विदेशी र दुई स्थानीय खेलाडीसमेत हुनेछन् ।

प्रतियोगितामा कुल सात टिम छन् । प्रतियोगिता वैशाख ११ देखि २५ सम्म हुनेछ । प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुनेछ ।