काठमाडौं := चलचित्र पत्रकार संघ नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमबीच साधारणसभा सम्पन्न भएको हो ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा र अतिथिमा चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
अध्यक्ष दिनेश सिटौलाले संघले चलचित्र पत्रकारिता गरिरहेका पत्रकारलाई संगठित गर्दै नेपाली चलचित्र, मनोरञ्जन र कला साहित्य क्षेत्रको प्रवद्र्धनका लागि सशक्तरूपमा कलम चलाउँदै आएको बताउनुभयो । ‘गत वर्ष सारा संसारलाई नै आक्रान्त पार्ने गरी सुरु भएको कोरोना भाइरस महामारीका कारण हाम्रो संघले योजनाअनुसार काम गर्न नसके पनि हामीले केही कामहरू भने लकडाउन खुलेपछि गर्न सफल भयौं,’ उहाँले बताउनुभयो ।
‘कोरोनाले एक वर्षको समयमा सदस्य साथीहरूको स्तरवृद्धिका लागि योजना बनेर पनि गर्न नसकिएका कामहरू छिट्टै पूरा गर्ने र चलचित्र पत्रकार संघ नेपाल आफ्ना सदस्यहरूको हितका लागि निरन्तर लाग्दै चलचित्र मनोरञ्जन, कला साहित्य क्षेत्रको प्रबद्र्धनमा लागि रहने छौं,’ अध्यक्ष सिटौला बताउनुभयो ।
कार्यक्रममा संघका महासचिव समिर बलामीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रदीप कार्कीले वर्षभरि भएका आम्दानी र खर्चको विवरणसहितको आर्थिक प्रतिवेदनसमेत पेश गर्नुभएको थियो । चलचित्र पत्रकार संघ नेपालको २१औं साधारणसभामा संघका ९ वटा शाखाका पदाधिकारी र संघमा आबद्ध सदस्यहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि शाखालाई पनि एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेको शाखाबाट उपस्थित प्रतिनिधिहरूको भनाइ थियो ।
चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी कोषको स्थापना गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गर्नुभएको छ । कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरूको हितमा काम गर्ने उद्देश्यले कोषको स्थापना गरेको हो ।




















