[ घनश्याम चौधरी “आरएन” ]
क्वालालम्पुर (मलेसिया)::= विगत दुई दशकदेखि मलेसियामा बस्दै आएका व्यवसायी तथा नेपाली समुदायका सामाजिक अभियन्ता एवं तत्कालीन प्रचण्ड नेतृत्वको माओवादी निकट प्रवास संगठन जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेको असामयिक निधन भएको छ।
गोरखा जिल्ला निवासी पाण्डे पछिल्लो समय कलेजोमा संक्रमण देखिएपछि नेपालमा अस्पतालमा उपचाररत रहनुभएको थियो। उपचारकै क्रममा उहाँको अच्चानक निधन भएको हो।
मलेसियामा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका पाण्डे नेपाली श्रमिकका समस्या र दुःखमा सहयोग गर्ने सामाजिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई अप्ठ्यारो पर्दा उद्धार तथा आवश्यक सहयोगका लागि उहाँ सक्रिय रहँदै आउनुभएको थियो।
विशेषगरी समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्ने, उद्धारका लागि पहल गर्ने तथा भइपरी आउने विभिन्न समस्यामा साथ दिने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहँदै आएको थियो। पाण्डेको असामयिक निधनले मलेसियास्थित नेपाली समुदाय तथा उहाँसँग निकट रहेका व्यक्तिहरूमा गहिरो दुःख पुगेको छ।
प्रेम पाण्डेको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा गहिरो समवेदना प्रकट गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।




















