[ राम अवतार चौधरी ]
कपिलवस्तु:= कपिलवस्तुको शिवराज–५, चन्द्रौटामा तरकारी खेती तथा घरेलु बिषादीको प्रयोग सम्बन्धि एकदिने स्थलगत तालिम सम्पन्न भएको छ । घरमै करेसाबारी तथा व्यावसायीका रुपमा खेती गर्दै आएका कृषकलाई बिषादीको प्रयोगबारे प्रशिक्षण दिएको बताईएको छ ।
शिवराज नगरपालिका कृषि विकास शाखाद्वारा मंगलबार आयोजित तालिम कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका–५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डले खेतीपातीमा पसिना बगाएर समयको सदुपयोगसँगै उत्पादन गरेका तरकारी आर्गनिक हुने गरेको बताए । कतिपयले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आए पनि बिषादी प्रयोग गर्न नजानेको उनले जिकिरे । बिषादी प्रयोग गर्न नजान्दा अधिकांशको स्वास्थ्य समस्या हुने गरेको बताउँदै तालिमले समुदायमा प्रभावकारी हुने समेत पाण्डे बताए । स्वास्थ्य राम्रो हुनुको साथै आफ्नै घरमा उत्पादन हुने गरेको तरकारीले पैसा र समयको समेत बचत हुने जनाए ।

यस्तै कृषि विकास शाखा अधिकृत ताराचन्द्र चौधरीले कार्यक्रममा बोल्दै सरकारले दिएको सेवा सुविधालाई आम नागरिकले सदुपयोग गर्नुपर्ने जनाउँदै तरकारी खेती गर्दै आएको कृषकलाई यस तालिमले अझ सशक्त बन्नेमा विश्वास व्यक्त गरे । सबैले आफ्नै बारीमा स्वाच्छ तरकारी उत्पादन तथा बिषादीको प्रयोग गर्न सक्षम भए प्लास्टिकका थैला बोकी बजार धाउने बाध्यता हटने अधिकृत चौधरीले जनाए ।

ज्ञानीराम सापकोटाको अध्यक्षता तथा शान्तिमाया अधिकारीले सञ्चालन गरेको उक्त तालिममा हिमपात साना किसान सहकारी संस्थाका २७ जना सदस्यहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।




















