काठमाडौं:= आजभन्दा १५ वर्षअघिदेखि गीतसंगीतमा संघर्ष गरिरहनुभएकी गायिका सरिता कार्की थाक्नुभएको छैन । यो अवधिमा दुई सयभन्दा बढी लोकगीतमा स्वर दिनुभएकी सरिता आफू संगीतमा रमाउने भएकाले यो पेशामा कहिल्यै नथाक्ने र दिक्क नमान्ने बताउनुहुन्छ ।
पछिल्लो समय कतिपय गायक तथा गायिका दुई–चारवटा गीत गाएर भाइरल भएको देख्दा सरिता यो विषयमा फरक मत राख्नुहुन्छ । उहाँ भाइरल बन्नुभन्दा पनि दर्शक तथा श्रोताको मनमा बस्न सक्नुपर्ने बताउनुहुन्छ । ‘दुई–चार महिना अत्यधिक भाइरल भएर गीत हिट हुन्छ तर ती मानिसहरू दुई वर्षपछि हेर्ने हो भने जहाँबाट आएका थिए त्यहीँ पुगेका हुन्छन् ।
त्यसैले भाइरलभन्दा पनि दर्शक तथा श्रोताको मनमा सधैंभरि बस्न सक्नुपर्छ,’ सरिताले हिमालय टाइम्ससँग भन्नुभयो, ‘मेरो डेढ दशकको यात्रामा सबै दर्शक तथा श्रोताको मनमा पुग्न सकेकी त छैन होला तर जतिले मलाई हेर्नुहुन्छ, सुन्नुहुन्छ उहाँहरूको मनमा बस्ने कोसिस गरेकी छु ।’
विभिन्न दोहोरी साँझहरूमा काम गर्दै डेढ दशक अघिदेखि नै सांगीतिक माहौलमा प्रवेश गरे पनि सरिताले विसं. २०६८ सालमा पहिलो गीत रेकर्ड गर्नुभएको थियो । त्यो समयमा गायक याम क्षेत्रीसँगको सहकार्यमा ‘कत्ति रुनु छ र’ बोलको लोकगीत सार्वजनिक भइसकेपछि सरिताको सांगीतिक यात्राको सुरुवात भएको थियो ।
पहिलो गीतबाटै सरितालाई विभिन्न सम्मान तथा अवार्ड मिल्यो जसले गर्दा उहाँलाई यस क्षेत्रमा थप हौसला मिल्यो । उक्त ‘कत्ति रुनु छ र’ बोलको गीतबाट सरिता उत्कृष्ट नवगायिकाको विधाबाट २०६९ सालमा प्रथम पूजा राष्ट्रिय लोकदोहोरी अवार्ड पाउन सफल हुनुभयो ।
सरिता अगाडि भन्नुहुन्छ, ‘सुरुकै गीतबाट अवार्ड पाउँदा अन्य गीतमा अझ राम्रो गर्नुपर्छ भन्ने उत्साह र जोश मिल्यो । त्यस गीतपछि मैले धेरै गीत गाउने अवसर पाएँ । धेरैले मेरो स्वरलाई मूल्यांकन गरेर गीत गाउने अवसर दिनुभयो ।’
सरिताले अहिलेसम्म गाएका गीतमध्ये ‘लाखौं तारा, खोलीमा जलुका, मायालु हजार, बदमास, लाउँछ माया, निष्ठुरे, दिदी बहीन, माया गाँसेर, लर्कौली’लगायत गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय छन् । यीमध्ये ‘लाउँछ माया’ बोलको गीत युट्युबमा मात्रै ३० लाखभन्दा बढी पटक हेरिएको छ । सरिताको पछिल्लो गीत ‘नङमा पालिस’ हो, जसमा बद्री पंगेनी र सरिताको स्वर छ ।
व्यावसायिक गीत गाउन थालेको एक दशक पार हुँदै गर्दा सरिता अहिलेसम्म छायाँछवि तीज म्यूजिक अवार्ड (२०७१), १७औं इमेज अवार्ड (२०७२), नेपाल संगीत उद्योग संघ म्यूजिक अवार्ड (२०७६) बाट सम्मानित भइसक्नुभएको छ । सरिताले चलचित्र ‘काफल पाक्यो’ मा समावेश शीर्ष गीतमा पनि स्वर दिनुभएको छ । जसमा सरितासँगै कुलेन्द्र विश्वकर्माको स्वर छ।
गायिका सरिता विशेषगरी लोक तथा दोहोरी गीत गाउने कलाकारहरू दोहोरी साँझबाटै निखारिएर आउने गरेको बताउनुहुन्छ । सरिताले पनि १४ वर्षसम्म दोहोरी साँझमै काम गर्नुभयो । पछिल्लो समय व्यस्तताका कारण दोहोरी साँझमा काम गर्न नसकेको उहाँ बताउनुहुन्छ ।
सरिताले गृहजिल्ला गोर्खामै दोहोरी साँझमा सुरुका केही वर्ष काम गर्नुभयो । त्यसपछि काठमाडौं आइसकेपछि चावहिलमा रहेको नमस्ते दोहोरी साँझमा केही वर्ष गायिकाका रूपमा काम गरेपछि सरिताले आफ्नै लगानीमा तीन वर्षसम्म सुनखानी रोधी घर सञ्चालन गर्नुभयो ।
सरिता सांगीतिक यात्राकै क्रममा जापानमा दुईपटक, युरोपका १२ देश, कतार, दुबई, भारत र नेपालका झण्डै ७० जिल्लामा सांगीतिक प्रस्तुतिकै क्रममा पुगिसक्नुभएको छ । उहाँ पछिल्लो समय नेपाली गीतसंगीतको बजार निकै फराकिलो बनेकोमा खुशी व्यक्त गर्नुहुन्छ ।
सरिता भन्नुहुन्छ, ‘दशकअघि क्यासेट बिक्री गर्ने समय थियो । मैले गाएका गीतमध्ये तीन दर्जन गीत क्यासेटमै सार्वजनिक भएका थिए । तर, अहिलेको समय डिजिटल भएको छ । डिजिटल बजारलाई बुझ्न सकिएन भनेपछि परिनेरहेछ ।’ सरिता अहिलेको समयानुसार चल्नुपर्ने बताउनुहुन्छ । त्यसैले पनि आफ्नो नामको युट्युब च्यानल खोल्नुभएको छ । आफूले गाएका गीत उक्त युट्युब च्यानलमै अपलोड गर्नुहुन्छ । सरितालाई युट्युबमा ८५ हजारले ‘सब्क्राइभ’ गरेका छन् ।
पछिल्लो समय गीतसंगीतको आम्दानीको स्रोत डिजिटल प्लेटफर्ममात्र भएको सरिता बताउनुहुन्छ । अझ पछिल्लो एक वर्षयता कोभिड–१९ ले असर पारेपछि युट्युबलाई मात्र आम्दानीको स्रोत मान्नुपरेको उहाँ बताउनुहुन्छ । सरिता भन्नुहुन्छ, ‘संगीतलाई नै जीवन मानेर हिँडेपछि समयअनुसार परिवर्तन हुँदै पनि जानुपर्छ ।’
अहिले केही समयदेखि मात्र देशभित्र विभिन्न स्टेज कार्यक्रम सुरु हुन थालेका छन् । सरिताले अहिले गायनसँगै एक व्यवसाय पनि सञ्चालनमा ल्याउनुभएको छ । उहाँको महिला तथा बालबालिकाहरूका लागि चाहिने पोशाक बिक्री गर्ने एउटा व्यवसाय सञ्चालनमा छ ।




















