फुटबलका सुपरस्टार फारवार्ड क्रिस्टियानो रोनाल्डोले तोडे पेलेको कीर्तिमान।

टुरिन:= सुपरस्टार फारवार्ड क्रिस्टियानो रोनाल्डोको हृयाट्रिक मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि ३–१ को सहज जित हात पारेको छ । उहाँले हृयाट्रिकसँगै आधिकारिक खेलमा ७७० गोल पूरा गर्दै ब्राजिलका लिजेन्ड खेलाडी पेलेको कीर्तिमान तोड्नुभएको छ ।

पेलेको नाममा ७६७ गोल रहेको थियो । आफ्नो नाममा रहेको कीर्तिमान तोडेपछि ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाईसमेत दिनुभएको छ ।

क्याग्लिएरीको मैदानमा आइतबार राति भएको खेलमा रोनाल्डोले ३३ मिनेटभित्रै हृयाट्रिक पूरा गर्नुभएको थियो । १०औं मिनेटमा उहाँले जुआन क्वाडराडोको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो ।

२४औं मिनेटमा युभेन्टसले रोनाल्डोले पेनाल्टीमार्फत दोस्रो गोल गर्नुभयो । गोलरक्षक एलेसिओ क्राग्नोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । यस्तै ३३औं मिनेटमा गोल गर्दै रोनाल्डोले हृयाट्रिक पूरा गर्नुका साथै पेलेको कीर्तिमान पनि भंग गर्नुभयो ।

दुई वर्षअघि युभेन्टसका आउनुभएका रोनाल्डोको यो दोस्रो हृयाट्रिक हो । रोनाल्डोले इटालियन लिगमा जारी सिजन २३ गोल गरिसक्नुभएको छ । उहाँ सर्वाधिक गोलकर्ता समेत हुनुहुन्छ । यस्तै ६१औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउनुभएको थियो ।

जितसँगै युभेन्टस २६ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १० अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग एक अंकले पछि छ । पराजित क्याग्लिएरी २२ अंक जोडेर १७औं स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजको गोल मद्दतमा इन्टर मिलानले टोरिनोलाई २–१ ले पराजित गरेको थियो । ६२औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत इन्टरलार्ई अग्रता दिलाउनुभएको थियो । ७०औं मिनेटमा एन्टेनियो सानाब्रियाले खेललाई बराबरीमा ल्याउनुभयो । ८५औं मिनेटमा मार्टिनेजले एलेक्सिस सान्चेजको पासमा गोल गर्दै इन्टरलाई २–१ को जित दिलाउनुभयो ।

जितपछि इन्टरले शीर्ष स्थानमा नौ अंकको स्पष्ट अग्रता लिएको छ । इन्टरको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ५६ अंक छ । पराजित टोरिनो २० अंक जोडेर १८औं स्थानमा छ ।