तनावमै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक।

काठमाडौं := निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको पुनःस्थापित प्रतिनिधिसभाको बैठक सूचना टाँसगरी स्थगित भएको छ । आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला सुरु भएको थियो । तर, बैठकमा तनावपूर्ण अवस्था सिर्जना भएपछि सूचना टाँसगरी स्थगित भएको छ । पहिलो बैठक नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध बन्यो । कांग्रेस सांसदहरूको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक बस्दै नबसी सूचना टाँसेर आगामी २६ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आइतबारको बैठकको सुरुमा नै सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । उहाँले ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार व्यक्त पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसलापछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नै सम्पूर्ण माननीय सदस्यहरूलाई स्वागत गर्दछु । यो सभालाई पुनः क्रियाशील बनाउन सहयोग गर्ने सबैलाई बधाईज्ञापन गर्दछु । ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।’ यसअघि सत्तारूढ दल प्रचण्ड–माधव समूहका सांसदहरूले सर्वोच्च अदालतको आदेशसँगै सरकारको वैधतामाथि प्रश्न उठेको भन्दै बैठक नै बहिष्कार गरेका छन् । उनीहरूले सरकार कुन पार्टीको भन्ने निक्र्योल नहुँदासम्म अध्यादेश पेश हुन नसक्ने भन्दै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

सभामुख सापकोटा कार्यसूचीमा प्रवेश गरेपछि प्रचण्ड–माधव समूहका सांसद भीम रावलले उभिएर सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । सभामुखबाट समय लिएर बोल्दै उहाँले शोक प्रस्ताव पारित गर्ने सूची राखेपछि अन्य सूचीमा प्रवेश गर्न नमिल्ने धारणा राख्नुभयो । त्यसैगरी, सर्वोच्च अदालतको फैसलाले सरकारको वैधतामाथि प्रश्न उब्जाएकाले त्यसको निक्र्योल नभई अध्यादेश पेश हुन नसक्ने भन्दै कार्यसूची परिवर्तन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘आज मात्रै सर्वोच्च अदालतबाट जुन फैसला आएको छ । यो सरकारले यसरी अध्यादेश ल्याउन पाउँछ कि पाउदैन ? यो कसको सरकार हो भनेर प्रश्न उठेको छ । जुन कुराको वैधता छैन । राजनीतिक, नैतिक, संवैधानिक र सम्मानित प्रतिनिधिसभाको परम्परा र अभ्यासबाट स्थापित हुँदैन, जुन कुराको अभ्यास गरिँदैन, त्यो कुराको अभ्यास नगरियोस् भनेर सभामुखको ध्यानाकर्षण गराउँछु ।’ रावलले बोलेलगत्तै सभामुखले बैठक सुचारु गर्न खोज्दा आपत्ति जनाउँदै पूर्व–प्रधानमन्त्री एवं सांसदहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरू बाहिरिनुभएको थियो ।

नेपाली कांग्रेसद्वारा संसद् बैठकमा नाराबाजी

सरकारले ल्याएको अध्यादेशहरू संसद्मा पेश गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाउँदै प्रतिनिधिसभामा नाराबाजी गरेको छ । सरकारले प्रतिनिधिसभा भंग गरी अध्यादेशबाट देश चलाउन खोजेको र सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेकाले ती अध्यादेशहरू सदनमा पेश हुन नसक्ने जिकिर कांग्रेसले गरेको हो । सरकारले सदनमा अध्यादेश पेश गर्ने होइन फिर्ता लिनुपर्ने भन्दै कांग्रेस सांसदहरूले बेल घेर्न पुगेका थिए ।

वेल घेर्नुपूर्व कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसालले सरकारले ल्याएको अध्यादेश असंवैधानिक भएकाले फिर्ता लिनुपर्ने र सदनमा पेश गर्न नदिने भन्नुभएको थियो । प्रतिनिधिसभाको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस १७ गते संघीय संसद्को राष्ट्रियसभाको अधिवेशन मात्रै सुरु भएको थियो । राष्ट्रियसभाको अधिवेशन पुस २६ गते अन्त्य गरिएको थियो । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय खारेज गरी १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन परमादेश जारी गरेपछि आइतबार बैठक बसेको हो ।