काठमाडौं := वैदेशिक रोजगार बोर्ड नेपालको तथ्याँक अनुसार सन् २००८ देखि २०१९ बीचमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकहरुमा कार्यरत लाखौंलाख नेपाली हरुमध्य ७ हजार ४ सय ६७ नेपालीले अकालमै ज्यान गुमाएका छन् ।
तथ्यांकअनुसार सवैभन्दा धेरै नेपालीको मृत्यु मलेसियामा भएको देखिएको छ , भनें दोश्रोमा कतारमा भएको देखिएको हो। कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीको मृत्यु भएको छ । कतारले विश्वकप फुटवल प्रतियोगिताको निर्माणको कामलाई तिव्र बनाएयता उनीहरुको मृत्यु भएको हो ।
बेलायती सञ्चार माध्यम गार्जियनका अनुसार सन् २०११ द्येखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले कतारमा ज्यान गुमाएका छन् । विश्वकप फुटवल प्रतियोगिता आयोजनाको प्रतिस्पर्धा जितेयता हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु भएको देखिएको गार्जियनले आफ्नो समाचारमा लेखेको छ ।
कतारमा पछिल्लो एक दशकमा विश्वकप फुटवल प्रतियोगितालाई लक्षित गर्दै ठूला ठूला भवनहरु, रंगशालाहरु, सडक, सार्वजनिक यातायात लगायतको अन्य संरचनाहरु पनि धमाधम निर्माण भइरहेका छन् ।
ज्यान गुमाउने मध्ये ४८ प्रतिशत नेपालीको मृत्युको कारण प्राकृतिक मृत्यु भएको उल्लेख छ भनें हृदयाघात तथा श्वासप्रश्वास सम्वन्धि समस्या त्यसपछि देखिएको छ ।
मृत्यु भएका मध्ये १६ प्रतिशतको सडकमा दुर्घटनामा परेर, १० प्रतिशतको कार्यथलोमा भएको दुर्घटनामा परेर मृत्यु भएको देखिएको छ । मृत्यु भएका मध्ये ७ प्रतिशतको कारण भने पत्ता लागेको छैन ।




















