सामाजिक अभियान्ता महिला शरिन ख्युङ्वा तामाङले महिलासंगै बिहे गरिन्।

काठमाडौं := समाजसेवी , सामाजिक अभियान्ता महिला शरिन ख्युव्वा तामाङले एक जना महिलासँग नै विवाह गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार विवाह बन्धनमा बाधिएकी हुन् ।

सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् , भने फेसबुकमा व्यापक चर्चा,परिचर्चा चलिरहेको छ।

उनले लामो समयपछि आफू समलिंगी भएको सार्वजनिक गरेकी हुन् । शरिनसँग निकट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् । तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डिभोर्स भइसकेको जुनु पुनले बताइन् ।

शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो । ‘मलाई पनि बोलाइएको थियो, म त रक्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’

धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।

समलिंगी बिहेलाई देवीकी आमा-बाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमा-बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ ।

जुनुकाअनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हिम्मत गरेर उत्रिएका हुन् ।#sarbajanik.com