कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थपियो।

एजेन्सी := कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिनुभयो । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि बढाउनु परेको उहाँको भनाइ छ ।

कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य सङ्कटकाल लागु भएको हो । “यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्ने निर्णय गरेका छौँ,” डुकले भन्नुभयो ।

सङ्कटकालको म्याद फेरि थपिएको जानकारी अहिले नै दिनु उपयुक्त लागेको उहाँले बताउनु भयो । स्वास्थ्य मन्त्री फर्नान्डो रुइजसहितको विज्ञ तथा सरोकारवालाहरुको टोलीले गरेको अध्ययन, छलफल र परामर्शका आधारमा सरकारले सङ्कटकाल लम्ब्याउने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो ।

अहिले थप गरिएको सङ्कटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने राष्ट्रपति डुकुले जानकारी दिनुभयो ।कोलम्बियामा पछिल्लो २४ घण्टामा तीन हजार ६८३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने देशभरी अहिलेसम्म कुल २२ लाख ४१ हजार २२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या ५९ हजार ३९६ पुगेको पनि मन्त्रालयको तथ्याङ्क छ।