एजेन्सी := एन्टिलिया बाहिर कारमा बिस्फोटक भेटिएपछि ७१.२ अर्ब डलरको सम्पत्तिका मालिक मुकेश अम्बानीको सुरक्षाको विषयमा पुनः चर्चा सुरु भएको छ । मुकेश अम्बानी भारतका एक्ला उद्योगपति हुन् जसले जेड प्लस (Z Plus) सुरक्षा पाएका छन् ।
अम्बानीबाहेक गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र कांग्रेस नेता प्रियंका गान्धी यही सुरक्षा घेरामा हिँड्छन् ।
जेड प्लस सेक्युरिटीको खर्च २० लाख प्रति महिना, अम्बानी आफैंले खर्च उठाउँछन् :
अम्बानी आफ्नो सुरक्षाको खर्च सबै आफैंले उठाउँछन् । भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई विश्वास गर्ने हो भने अम्बानी आफ्नो सुरक्षामा हरेक महिना करिब २० लाख भारु खर्च गर्छन् । यो खर्चबाहेक अम्बानीको सुरक्षा टिमलाई ब्यारेक पनि प्रदान गरिन्छ ।
जेड प्लस सुरक्षा भएका कारण मुकेश अम्बानीको सुरक्षामा एकैपटक ५५ सुरक्षाकर्मी तैनाथ हुन्छन् । यसमा १० एनएसजी र एसपीजी कमान्डो हुन्छन् र अन्य प्रहरी अधिकारी पनि हुन्छन्।
सुरक्षाको पहिलो घेराको जिम्मेवारी एनएसजीको हुन्छ जबकी दोस्रो घेरामा एसपीजी हुन्छन् । यसबाहेक आइटीबीपी र सीआरपीएफका जवान पनि सुरक्षामा तैनाथ हुन्छन्।




















