टुरिन:= स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्नुभएको खेलमा इटालियन क्लब यूभेन्ट्सले जित हात पारेको छ । सोमबार राति भएको इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले क्रोटोन ३–० गोलअन्तरले हराएको हो ।
जितसँगै युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलानभन्दा अझै आठ अंकले पछाडि छ । खेलको ३८औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाउनुभएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा आरोन रामसेको सहयोगमा रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । युभेन्ट्ुसका लागि रोनाल्डोको यो ७०औं गोलसमेत हो । उहाँ दुई वर्षअघि टोलीसँग अनुबन्ध हुनुभएको थियो । युभेन्ट्सका लागि वेष्टर म्याकिनीले तेस्रो गोल गर्नुभएको थियो ।
यस सिजनमा क्लबका लागि १८औं गोल गरिसक्नुभएको रोनाल्डो सर्वाधिक गोलकर्तासमेत हुनुहुन्छ । अंकतालिकामा २३ खेलमा इन्टरको ५३, दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ । एक खेल कम खेलेको युभेन्ट्सको ४५ अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको क्रोटोनको १२ अंक छ ।




















