गुल्मी := गुल्मी जिल्ला समाज युकेले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग गरेको छ । संस्थाले प्रत्येक वर्ष विश्व अपाङ्ग दिवसको दिन संकलन गर्ने रकम यसवर्ष बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई सहयोग गरेको गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष रामप्रसाद सापकोटाले बताउनु भयो ।
“हामीले प्रत्येक वर्ष रकम संकलन गरी अपाङ्गता भएकाहरूको हितमा काम गर्ने संस्थालाई सहयोग गर्दै आएका छौं ।” उपाध्यक्ष सापकोटाले भन्नुभयो, “यस वर्ष हामीले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाइ सहयोग गरेका हौं ।”
मंगलबार गुल्मीमा एक कार्यक्रमका बिच सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । गुल्मी जिल्ला समाज युकेको प्रतिनिधिको रूपमा हिरामणी सापकोटाले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मी अध्यक्ष इश्वरी प्रसाद पौडेल र संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य रघुनाथ मरासिनीलाई हस्तान्तरण गरिएको हो ।
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीले सहयोग गर्ने संस्थाप्रति आभार रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य रघुनाथ मरासिनीले बिदेशी भुमिमा रहेर जन्मथलो सम्झिएर सहयोग गर्नेप्रति सम्मान ब्यक्त गर्नुभयो । साथै संस्थाका अध्यक्ष इश्वरी प्रसाद पौडेलले सहयोगी मनलाई धन्यबाद दिदैं आगामी दिनमा सहयोगको अपेक्षा ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममको संचालन संस्थाका सचिव मेघलाल पाण्डेले गर्नुभएको थियो । चेक हस्तमान्तरण कार्यक्रममा गुल्मी जिल्ला समाज युकेको प्रतिनिधिको रूपमा रहेका हिरामणी सापकोटाले सबैले गुल्मी जिल्ला समाज युकेले जस्तै सहयोग गर्नुपर्ने बताउनु भयो ।
गुल्मी जिल्ला समाज युकेले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई ५० हजार सहयोग गरेको हो । बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीको कार्यालय आफ्नै भवन रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा रहेको छ ।




















