प्रचण्ड माधव पक्षको नेकपाले शान्ति बाटिकामा विजय जुलुस निकाल्दै।

काठमाडौं := प्रचण्ड माधव पक्षको नेकपाले बुधवार मध्याह्न राजधानीमा विजय जुलुस निकाल्ने भएको छ। नेता विष्णु रिजालका अनुसार दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस हुँदैछ।

‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं!’ रिजालले भनेका छन्।

जिल्लाहरुमा भने बिहान ८ बजे नै विजय जुलुस निकालिने उनले बताएका छन्। चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल आजै काठमाडौं आइपुग्ने बताइएको छ।

सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा विघटनलाई बदर गरेसँगै प्रचण्ड माधव पक्षले खुसीयाली मनाउन लागेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै प्रचण्ड माधव पक्षका मन्त्रीहरुले राजीनामा दिँदै सडक आन्दोलनमा उत्रिएका थिए।