क्वालालम्पुर(मलेसिया):= मलेसियाको अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावलाई ध्यानमा राख्दै बिना–अनुदान प्राप्त पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २५ सेनले वृद्धि गरेको छ।
पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव तथा अमेरिका–इरानबीचको द्वन्द्वका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा दबाब बढेपछि मूल्य वृद्धि भएको सरकारले जनाएको छ। सोही प्रभावका कारण मलेसियाले घरेलु बजारमा बिना–अनुदान इन्धनको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार RON97 पेट्रोलको मूल्य RM४.५०, RON95 पेट्रोलको RM४.०२ र डिजेलको RM४.९२ प्रतिलिटर कायम गरिएको छ।
तर अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रत्यक्ष असर आम उपभोक्ता तथा न्यून आय भएका नागरिकमाथि नपरोस् भन्ने उद्देश्यले सरकारले लक्षित अनुदान (Targeted Subsidy) भने निरन्तरता दिएको छ।
सरकारको ‘बुडी मदानी’ (BUDI MADANI) कार्यक्रमअन्तर्गत योग्य स्थानीय उपभोक्ताले सहुलियत दरमै इन्धन खरिद गर्न पाउनेछन्। अनुदान प्राप्त पेट्रोल प्रतिलिटर RM२.०५ र डिजेल RM२.१५ मै उपलब्ध हुने व्यवस्था कायम राखिएको छ।
यसले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे पनि लक्षित वर्गका स्थानीय उपभोक्ताको दैनिक जीवनयापन तथा यातायात खर्चमा ठूलो असर पर्न नदिने सरकारको अपेक्षा छ।
बिना–अनुदान इन्धनको नयाँ दर:
- ⛽ RON97: RM४.५० प्रति लिटर
- ⛽ RON95: RM४.०२ प्रति लिटर
- 🚛 डिजेल: RM४.९२ प्रति लिटर
- 🎯 अनुदान प्राप्त पेट्रोल: RM२.०५ प्रति लिटर
- 🎯 अनुदान प्राप्त डिजेल: RM२.१५ प्रति लिटर




















