नेपाली श्रमिकका समस्या समाधान गर्न निरन्तर स्थलगत निरिक्षण गर्दै राजदूतावास, नभाग्न आग्रह।

क्वालालम्पुर(मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका राहदानी (पासपोर्ट) लगायत विभिन्न समस्या समाधानका लागि स्थलगत निरीक्षण (फिल्ड भिजिट)लाई निरन्तरता दिएको जनाएको छ।

दूतावासले आफ्नो नियमित साप्ताहिक फेसबुक लाइभ कार्यक्रममार्फत विभिन्न कम्पनी तथा कार्यस्थलमा पुगेर नेपाली श्रमिकहरूको अवस्था बुझ्ने, उनीहरूका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आवश्यक कानुनी तथा प्रशासनिक सहजीकरण गर्ने काम भइरहेको जानकारी दिएको हो।

दूतावासका अनुसार, कतिपय नेपाली श्रमिकहरूले राहदानी कम्पनीको नियन्त्रणमा रहेको, कागजातसम्बन्धी समस्या तथा रोजगारसँग सम्बन्धित विभिन्न कठिनाइ भोगिरहेको गुनासो गर्ने गरेका छन्। यस्ता समस्याको वास्तविक अवस्था बुझ्न दूतावासको टोलीले सम्बन्धित कम्पनी तथा कार्यस्थलमै पुगेर निरीक्षण गर्ने गरेको जनाएको छ।

स्थलगत निरीक्षणका क्रममा श्रमिकको कार्यस्थल, बसोबासको अवस्था, रोजगारसम्बन्धी कागजात तथा राहदानीलगायत विषयमा जानकारी लिने र आवश्यकताअनुसार सम्बन्धित रोजगारदाता तथा कम्पनीसँग समन्वय गर्ने गरिएको दूतावासले जनाएको छ।

दूतावासले श्रमिकको राहदानी उनीहरूकै हातमा हुनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ। राहदानी फिर्ता पाएपछि भने श्रमिकहरूले पनि आफ्नो रोजगार सम्झौता र मलेसियाको प्रचलित कानुनको पालना गर्नुपर्नेमा दूतावासले जोड दिएको छ।

विशेषगरी राहदानी हातमा परेपछि रोजगारदातासँगको सम्झौता विपरीत कम्पनी छोडेर भाग्ने, गैरकानुनी रूपमा अर्को स्थानमा काम गर्ने वा वैधानिक प्रक्रियाबाहिर जाने कार्य नगर्न दूतावासले नेपाली श्रमिकहरूलाई पुनः आग्रह गरेको छ।

दूतावासले श्रमिकको अधिकार संरक्षणसँगै उनीहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको स्पष्ट पार्दै समस्या परेमा कम्पनी छोडेर भाग्नुको सट्टा सम्बन्धित निकाय वा नेपाली दूतावासमा सम्पर्क गरी कानुनी बाटोबाट समाधान खोज्न आग्रह गरेको छ।

दूतावासको यो स्थलगत निरीक्षण अभियानले कागजात, राहदानी तथा रोजगारसम्बन्धी समस्यामा परेका नेपाली श्रमिकलाई प्रत्यक्ष रूपमा राहत पुग्ने अपेक्षा गरिएको छ।