पेनाङबाट बाढीपीडितका लागि रु.१ लाख बढी सहयोग।

पेनाङ(मलेसिया):= नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि मलेसियाको पेनाङमा कार्यरत नेपाली श्रमिकहरूले मलेसियन आरएम २,८०० आर्थिक सहयोग गरेका छन्।

एल्ना मलेसिया एसडीएन बीएचडीमा कार्यरत नेपाली श्रमिकहरूले हिमाल कार्कीको नेतृत्वमा संकलन गरेको उक्त रकम ६ सेप्टेम्बर २०२६ मा रिया मनी ट्रान्सफरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल पठाइएको हो। उक्त रकम करिब रु. १ लाख ४ हजार ३ सय बराबर हुन्छ।

अभियानमा नेपाली श्रमिकसँगै मलेसियन, भारतीय, म्यानमार र भियतनामी नागरिकले समेत सहयोग गरेका छन्। एउटै कार्यस्थलमा कार्यरत विभिन्न देशका नागरिकले नेपालको विपद्का लागि हातेमालो गर्नुले मानवीय सहयोग राष्ट्रिय सीमाभन्दा माथि हुने सन्देश दिएको छ।

अभियानकर्ता कार्कीले प्रवासमा रहे पनि मातृभूमिमा विपद् पर्दा आफूहरूले सकेको सहयोग गरेको बताउँदै सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले संकलित रकम वास्तविक पीडितको राहत तथा पुनःस्थापनामा पुग्ने विश्वास व्यक्त गरे।