
काठमाडौं := भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप एअर इण्डियाकाे विमानमार्फत दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर समीर अधिकारीले बताउनुभएको छ।
खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख ‘काेभिशिल्ड’ डोज खोप नेपाल आइपुगेको हो । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीकाे भनाइ छ ।
काठमाण्डौ आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ । गएको बुधबार नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल ल्याइएको हो ।
यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप कोभिशिल्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो । त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भइसकेको छ । सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ ।