खोटाङ:= गत माघ २८ गते खोटाङको पञ्च माध्यमिक विद्धालयका कानुन संकायका विधार्थी समूहले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारवाहीको माग राखेर गृहमन्त्रीलाई ज्ञापन पत्र पठाए । त्यो समूहले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाएका थिए ।
ज्ञापन पत्रमार्फत यस प्रकारको क्रुर, अमानवीय एवम् कायरतापूर्ण जघन्य कसूरका दोषीलाई पक्राउ गरी निजहरु उपर अनुसन्धान गरी हदैसम्मको कानुनी कारबाहीको माग गरे । सो घट्नालाई तोडमोड गर्ने, ढाकछोप गर्ने र यो वा त्यो बहानामा दोषीलाई उन्मुक्ति दिने काम भएमा देशभरका विधार्थीहरु कडाभन्दा कडा आन्दोलनमा उत्रने चुनौती पनि दिए ।
३ फागुनमा संयुक्त संघर्ष समितिले पनि प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई सोही किसिमको ज्ञापन पत्र पठाए । सुदुरपश्चिमका भागरथीको बलात्कार र हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारवाहीको माग गृहमन्त्रीसँग राख्दा खोटाङकै एकजना विभत्स अवस्थामा मृत भेटिएकी महिला तथा दुईजना महिलाको हत्या भएको पाँच वर्ष वित्दा न त कसैले ज्ञापन पत्र निकाले, न कसैले सामाजिक सञ्जालमा लेखे, ‘तीनजना महिलाको हत्यारा पत्ता लगाउ भनेर’ ।
तीनजना महिलाको हत्यारा पत्ता लगाउन दवाव दिने मामिलामा महिला हक अधिकारको विषयमा लड्ने जिल्लामा रहेका संघसंस्थाहरु अझै पनि निन्द्रामै छन् । राजनीतिक दललाई फुर्सद छैन । जनप्रतिनिधि चासो राख्दैनन् । महिला हक अधिकारका लागि लड्नेहरुले बैतडीको किशोरीको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई विभिन्न माध्यमबाट दवाव दिंदा जिल्लाको तीनजना महिलाहरुको हत्यारा पत्ता लगाउ भन्न अझै सकेका छैनन् । महिला नेतृहरुले सम्भवतः यो विषय नै विर्सिसकेका हुन सक्छन् ।
२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्यामा संलग्न दोषी पाँचवर्ष वित्दासम्म पत्ता लाग्न सकेको छैन ।
सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका छ ।
यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको छ ।
तीन महिलाको हत्या भएको वर्षौवर्ष बित्दा समेत हत्यारा पत्ता लाग्न नसकेको कुरालाई न कुनै अधिकारीहरुले जिल्लामा आयोजना हुने कार्यक्रमहरुमा जोडदार आवाज उठाएका छन्, न महिला अधिकारकर्मीले आवाज उठाए । जिल्लाको महिलाको हत्यारा पत्ता लगाउ भन्न छोडेर कञ्चनपुरका निर्मला पन्त, बैतडीका भागरथीको हत्यारा पत्ता लगाउ भनेका यदाकदा पाईन्छ । भागरथी र निर्मलाको कुरा उठाउनु हुन्न भन्ने हैन, आफ्नै जिल्लाका तिन जना महिलाको विषय चाँहि भुल्यौ कि भन्ने हो ।
तीनजना महिलाको हत्यारा पत्ता लगाउन भनेर जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयमा हुने कार्यक्रममा पटक–पटक कुरा उठाइएको तर यो विषय साँच्चिकै मौन भएको र वास्ता नगरिएको महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङका अध्यक्ष पुर्णमाया तामाङले बताईन् । यो विषय बारम्बार उठाइरहेका छौ । ‘हामी गरिरहेका छौ, गर्छौ, पत्ता लगाउछौ’ भन्ने आश्वसन आउँछ । अध्यक्ष तामाङले भन्नुभयो, “यो विषय नउठाएको हैन, उठाइरहेका छौ, बाहिरी जिल्लाको महिलाको हत्यारा पत्ता लगाउ भनेर सवै जिल्लाले ज्ञापन पत्र दिन्छ तर खोटाङको जिल्लाको चाँहि दिइदैन ।”
महिलाको हत्यारा पत्ता लगाउ भनेर सुरुवातमा ज्ञापन पत्र बुझाइयो त्यसपछि लिखित रुपमा केही भएको छैन । लिखित रुपमा खोटाङबाट पनि गृहमन्त्रीसमक्ष ज्ञापन पत्र जानुपथ्र्यो । त्यो नभएको अवस्था छ । कुरा उठाउनु पर्ने अवस्थामा भने यो विषय किन हरायो, किन खोजी भएन, किन बेवास्ता गरियो भनेर कुरा उठाइरहेको तामाङको भनाई छ ।
हत्याराहरुलाई कानुन अनुरुप शक्क्त कारवाही हुनुपर्ने राष्ट्रिय मानव अधिकार प्रदेश नं १ शाखा कार्यालय खोटाङका निमित्त प्रमुख चिरञ्जीवी कोईरालाले बताउनुभयो । हत्याको विषयमा अनुसन्धान निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण प्रसाद चिमरीयाले बताउनुभयो । यो विषय ओझेलमा परेको छैन । सबैको चासोको विषय छ । अनुसन्धान नहुंदासम्म जिरो हुन्छ । डिएसपी चिमरीयाले भन्नुभयो, ‘अनुसन्धानको विषय यस्तो विषय हो । यो यति, उति प्रतिशत भन्ने कुरा हुन्न । नहुञ्जेलसम्म त्यो जिरो लेभलमा मै हुन्छ । भएपछि सत प्रतिशत हुन्छ ।’
यो विषयमा आफू गम्भीर रुपमा लाग्ने र प्रहरीलाई अझ क्रियाशिल हुन निर्देशन दिइने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । झण्डै सात महिना अगाडी भर्चुअल मिटिङमार्फत डिआइजीसँग कुरा राखेर अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सकिरहेका छैनौ अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुहोस भनेर माग गरिएको संविधानसभा सदस्य दुर्गाजयन्ती राईले बताईन् ।
धेरै ठूल्ठूला घट्नाका अपराधीहरु गिरफ्तार हुन्छन् तर, महिलाको हत्या गर्ने हत्यारा गिरफ्तार हुन सक्दैन । त्यसमा हामी दुखी छौ । राईले भन्नुभयो, ‘यो विषयलाई राज्यले ठिक ढंगले लिन नसकेकोमा हामी पनि आक्रोशित छौ ।’




















