चन्द्रपुरमाथि पुलिसको सहज जित।

काठमाडौं:= राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले चन्द्रपुरनगरपालिकामाथि सहज जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुरमाथि ३–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक–एक गोल गर्नुभयो । रौतहटको चन्द्रपुरविरुद्ध पुलिसले खेलको सातौं मिनेटमा सिर्जनाको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ५४औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि खेलको ८५औं मिनेटमा परिवर्तित खेलाडी रेखाले गोल गर्दै पुलिसलाई ३–० को जित दिलाउनुभयो । लिगमा पुलिसको यो चौंथो जित हो । जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौथो स्थानमा रहेको पुलिसले नौ खेलमा १४ अंक जोडेको छ । वालिङ पुलिसभन्दा गोल अन्तरले अघि रहेको छ । चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।