भागरथी हत्या प्रकरण: नौ दिनसम्म न हत्याराको सुइँको पाइयो न त शव नै उठ्यो।

धनगढी:= बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको नौ दिन बित्दा पनि प्रहरीले हत्याराको सुइँको पाउन सकेको छैन । हत्यामा संलग्नहरूलाई कारबाहीको माग गर्दै गाउँबाट सुरु भएको आन्दोलनमा अब सिंगो जिल्ला नै उत्रिएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफैँ दोगडाकेदार गाउँपालिकामै बसेर सात दिनदेखि अनुसन्धानको नेतृत्व गरिरहनुभएको छ । घटनास्थलबाट करिब दुई किलोमिटरको दूरीमा रहेको खोचलेक प्रहरी चौकीमा बसिरहनुभएका उहाँले बैतडी आएको तेस्रो दिन नै अनुसन्धान साँघुरिएको दाबी गर्नुभएको थियो  । मृत अवस्थामा भेटिनुभएकी किशोरी भागरथीको शव पनि नौ दिनसम्म उठ्न सकेको छैन । 

शंकास्पद पाँच जना विशेष निगरानीमा 

स्रोतका अनुसार नौ दिनसम्म आइपुग्दा जिल्लाभित्र तीन र जिल्ला बाहिर दुई जनालाई प्रहरीले विशेष निगरानीमा राखेको छ । भागरथीसँगको फोन सम्पर्क, घटनाको दिन गाउँ छोडेका र यसअघिका ‘क्राइम हिस्ट्री’ देखिएका व्यक्तिहरूमा अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बताएको छ  । स्थानीय सनातन माविमा १२ कक्षामा पढ्ने भागरथीको गत २१ माघमा विद्यालयबाट फर्किने क्रममा बलात्कारपछि हत्या भएको थियो  । उहाँको स्तनमा टोकेको घाउ देखिएकाले त्यो भागको नमुनासमेत संकलन गरेर प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने भजाइनल स्वाब प्रयोगशाला पठाइसकिएको छ  ।

नौ दिनसम्म पनि उठेन शव

हत्या भएको तेस्रो दिन जिल्ला अस्पताल बैतडी पु¥याइएको भागरथीको शव शुक्रबारसम्म पनि शव उठ्न सकेको छैन । शव पु¥याइएको भोलिपल्ट नै पोष्टमार्टम गरिएको शव आफन्तले उठाउन नमानेका हुन् । दोषी पत्ता नलाग्दासम्म शव नउठाउने आफन्तको अडानपछि अस्पतालको शवगृहमा उहाँको शव राखिएको छ । 

शव सुरक्षित राख्न मिल्ने ‘मर्सरी बक्स’ नभएका कारण अस्पतालले विभिन्न उपाय अपनाएर शव जोगाउने प्रयास गरेको छ  । तर, त्यसरी धेरै समय राख्न नसकिने अस्पतालको भनाइ छ  । भागरथीको शव काठको बाकसमा राखिएको छ । ‘डिपफ्रिजमा आइस बनाएर बाकसभित्र राख्दै शव चिस्याइरहेका छौँ ।’ जिल्ला अस्पतालका डा. वसन्त जोशीले भन्नुभयो, ‘दिनहुँ आइस फेर्दै गरे पनि यो सुरक्षित हुँदैन ।’ 

सुदूरपश्चिमका डिआइजी सुवेदी सात दिनदेखि खोचलेकमा के गर्दै छन् घटनास्थलमा ?

बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि विद्यार्थीहरू घटना सार्वजनिक भएकै दिनदेखि सडकमा छन् । बैतडीसहित प्रदेशका नौ वटै जिल्लामा दैनिकजसो भइरहेका प्रदर्शनमा सहभागी विद्यार्थीहरूको एउटै माग छ, ‘भागरथीलाई न्याय देऊ ।’ निर्मला हत्या प्रकरण जस्तो नागरिक समाज, महिला अधिकारकर्मी र राजनीतिकर्मी सडकमा नदेखिए पनि सम्बद्ध निकायको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रममा विभिन्न किसिमले सहभागिता जनाइरहेका छन् । राजनीतिक दलका विद्यार्थी संगठन र युवा संगठनहरू भने दबाबमूलक कार्यक्रममा देखिएका छन् । राजनीतिक दलले विज्ञप्ति जारी गरेर भागरथीका हत्याराको पहिचान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिसकेका छन् । 

संघीय राजधानी काठमाडौंमा पनि केही प्रदर्शन भइरहेका छन् । यस्तो परस्थितिमा सुदूरपश्चिम प्रदेशको कमाण्ड सम्हालिरहनुभएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदी स्वयं सात दिनदेखि बैतडीमै हुनुहुन्छ । बैतडीको पनि भागरथीको हत्या भएकै ठाउँमा बसेर डिआइजी सुवेदी अनुसन्धानमा आफैँ खटिनुभएको छ । धनगढीको बसाइ छोडेर स्थानीय खोचलेक प्रहरी चौकीकै क्वाटरमा बसिरहनुभएका डिआइजी सुवेदी त्यहाँ के गर्दैछन् ? 

‘डिआइजी सापले अनुसन्धानमा खटिएको टोलीलाई आवश्यक निर्देशन दिने, दैनिक अपडेट लिने काम गरिरहनुभएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह भन्नुहुन्छ, ‘स्थानीय जनप्रतिनिधि र आम नागरिकसँग बेलाबेला छलफल गर्ने, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूलाई प्रोत्साहित गरिरहनुभएको छ ।’

डिआइजी सुवेदी भागरथीको हत्या प्रकरणपछि आइतबार खोचलेक पुग्नुभएको थियो । त्यसअघि प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धानमा सघाउन डिआइजी सुवेदीले प्राविधिक टोली खटाउनुभएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको नेतृत्वमा पनि अनुसन्धानका लागि छुट्टै टोली खटाइएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दर्जनौँ व्यक्तिहरूमाथि अनुसन्धान गरिसकेकाले केही सीमित व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गरी प्रमाण भिडाउने काम भइरहेको जनाएको छ । 

हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको हो ।

कांग्रेसले बलात्कार र हत्याका सबै घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन पनि माग गरेको छ । विज्ञप्तिमा भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो हप्ता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, पीडितको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ भनिएको छ ।

बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको भनाइ छ । जिम्मेवार तहबाट विकसित देशहरूमा पनि यस्तै, हुन्छ भन्ने गैरजिम्मेवार जवाफले सरकारको उदासिनता प्रकट गरेको भन्दै कांग्रेसले महिलामाथि हिंसा, बलात्कार तथा हत्याका अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुकता बनाउन सरकारसँग माग गरेको छ ।

कांग्रेसले शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका वर्षहरूमा कारुणिक ढंगले खण्डित हुँदै आएको बताएको छ । उसले अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको बताउँदै भनेको छ, ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानुनी चेतावनीको भाषालाई कमजोरसमेत बनाएको छ । निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरू कानुनको कठघराभन्दा बाहिरै छन् ।