एजेन्सी := म्यानमारमा सैन्य कू गर्ने सैनिक अधिकारी र नेताहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘कू’ गर्ने अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
उक्त प्रतिबन्ध सैन्य नेताका साथै उनको परिवार र उनीहरुसँग सम्बन्धित व्यापारमा लागू हुनेछ। त्यस्तै म्यानमारको सेनालाई दिने भनिएको १ बिलियनको आर्थिक सहयोग रोक्का गर्ने तयारी समेत भइरहेको छ।
म्यानमारको सेनाले केही दिनअघि जननिर्वाचित संसदलाई अस्वीकार गर्दै जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको थियो। त्यसयता सैन्य शासकहरुविरुद्ध दैनिकजसो विरोध प्रदर्शन भइरहेका छन्।
प्रदशर्नका क्रममा मंगलबार प्रहरीले गोली चलाएको थियो। जसमा एक महिलाको टाउकोमा गोली लागेको थियो। यस्तै, प्रहरीले पानीको फोहोरा र रबर बुलेट समेत प्रहार गरेको थियो। सैन्य शासकको प्रदर्शनकारीमाथि दमन बढ्दै गएपछि अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
हाल सैन्य कू विरुद्ध यागौंमा हजारौं मानिस प्रदर्शन गरिरहेका छन्। सैन्य सरकारले निषेधाज्ञा जारी गरेपनि मानिसहरु प्रजातन्त्र पुन:स्थापनाका लागि सडकमा ओर्लिएका छन्। यस्तै उनीहरुले पक्राउ गरेका आङ सान सूची लगायतका नेताहरुलाई रिहा गर्न माग गरिरहेका छन्। सेनाले नियन्त्रणमा लिएका नेताहरुको अवस्था बारेमा अहिले केही सार्वजनिक गरिएको छैन।




















