तराई – मधेसमा शीतलहरको कहर।

[ लेखक : निनु कर्ण ]

शहरको सडक जिन्दावाद र मुर्दावादको नाराले केही तात्तिएको अवस्था भए तापनि भित्री मधेसमा शीतलहरको कारण बस्तीका वृद्धवृद्धामा एक प्रकारको त्रास फैलिएको छ । यो जाडो काट्न सकिँदैन कि भन्ने मानसिकताले उनीहरू ग्रसित छन्स महिनासम्म सामान्य चिसो रहेको हुनाले यसपालि त कोरोना महामारीको कारण शीतलहर’ भएन छ भन्दै केही आनन्दित मनहरूलाई माघको पहिलो सातादेखि सुरु भएको शीतलहरले फेरि जाडो महिनाको पीडादायी कहरतिर धकेलिएको छ । सामाजिक असमानताको ठूलो खाडलभित्र अहिले तराई मधेसका ग्रामीण बस्तीहरू छन् । परिवर्तनका कुनै असर त्यस्ता बस्तीहरूमा परेको पाइँदैन । 

शिक्षित परिवार र जातीय वर्गीकरणका आधारमा छुट्ट्याइएका उपल्ला जातिका सचेत नागरिकहरू अवसरको खोजीमा शहर पलायन भए भने आर्थिक रूपमा विपन्न एवं दलित, जनजाति समुदायमात्रै ग्रामीण भेगमा बाँकी रहेका छन् । अशिक्षा र चेतनाको अभावका कारण ती समुदाय अझै पनि पिछडिएको छ । पछिल्लो राजनीतिक परम्परा र संस्कार अति नै फोहोरी खेलको रूपमा विकसित हुँदै गएको कारण त्यस्ता समुदाय दिनानुदिन गरिबी र अशिक्षाको शिकार हुँदै गएका छन् । सिद्धान्तविहीन राजनीतिक परम्परा र संस्कारले सबै कुरालाई नै अवमूल्यन गरेको हो । 

ग्रामीण भेगका बासिन्दालाई आर्थिक उन्नतिका अवसरबाट वञ्चित गराउने संस्कारको सुरुवात गराइनुको कारण हो ग्रामीण क्षेत्रका बासिन्दाहरू सधैं कष्टमय जीवनयापन गर्नुपर्ने बाध्यतामा पुग्नु । देश, प्रदेश र समाज राजनीतिक अस्थिरता अत्यन्तै गम्भीर अवास्थामा छन् । राजनीतिक विकृतिको प्रभाव विपन्न र अशिक्षित समाजमा परेको छ । मधेसमा एउटा उखान छ ‘ककरो खाइला लाई (लड्डु), ककरो पोछला मिठाई’ यो उक्तिले समाजको असमानताको यथार्थ चित्रण गरेको लाग्दछ । लाई भनेको मुरही भुजालाई सख्खरमा राखेर बनाइएको लड्डु हो जुन सबैभन्दा सहजै बनाउन सकिन्छ र मिठाई भनेको मिष्ठान्न भोजनको सर्वोत्तम परिकार हो । ककरो भनेको कसैलाई बुझाउँछ भने खालि स्थानको अर्थ हो मलमुत्र त्यागपश्चात पखालिने कार्य भन्न खोजिएको हा ।

गरिबलाई खान, लाउन उचित बसोबासको उपलब्धतामा कुनै नेतृत्वको ध्यान जान सकेको छैन । जनतालाई आर्थिक रूपले सबल बनाउनेतर्फ कहिल्यै पहल हुन सकेन । कृषि पेशामा निर्भर भई जीविकोपार्जन गर्ने र जाडो, गर्मीको मौसमानुसारको अवस्थामा सहज हुनेगरी स्थानीय स्रोत साधनबाटै जोहो गर्ने परम्परा मधेसको ग्रामीण क्षेत्रमा रोकिए छ । वर्षातको मौसममा बाढीले गर्दा उब्जाउ जमिनहरूमा बालुवाले पुरिएर माटोको उर्वराशक्ति नै तहसनहस भइसकेको र लगाइएका बालीनाली बाढीले वर्षेनी प्रभावित हुँदा अन्नबालीलगायत त्यसबाट प्रयोगमा आउने सबै सामग्री प्रभावित हुँदा जनजीवन झनै कष्टपूर्ण हुँदै गएको अनुभव सुनाउँछन् ग्रामीण क्षेत्रका किसान । 

सामाजिक असमानताले एउटा समाजका व्यक्तिहरूको जीवनस्तर र जीवनशैलीको भिन्नतालाई दर्शाउँछ जुन मधेको शहरीया समाजको जीवनस्तर र ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न समाजको जीवनस्तरले छायांकन गर्दछ । 

मधेसको समाजमा असमानताको खाडल व्यापक फराकिलो हुँदै गएको चिन्ता व्यक्त गर्छन ग्रामीण समाजका केही सचेत व्यक्तित्वहरू । तराई क्षेत्रमा केही वर्षदेखि लगातार प्रकोपकै रूपमा शीतलहरले ग्रामीण क्षेत्रको विपन्न समुदायको जीवन कष्टकर बनाउने गरेको छ । कहिले बाढीको प्रकोपले त्राहिमाम बनाउँछ भने कहिले शीतलहरले दलित समुदायका वृद्धवृद्धा तथा साना बालबालिकाले वर्षेनी अनाहकमै मृत्युवरण गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सामना गर्नुपर्छ । 

महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुशहर जातिको बसोबास बढी छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाकांक दृष्टिले अत्ति नै पिछडिएको मुशहर जाति पर्दछ । सम्पत्तिका नाममा तिनका पराले झुप्रा घर हुने गर्दछन् । सन्तान धेरै जन्माउने परम्परा छ मुशहर जातिमा किनभने छोराछोरीले किशोरावस्थादेखि नै अन्नपातको जोहो गर्ने हुनाले जीवन गुजारामा सहयोग पुग्ने धारणा यथावत छ । जमिन जायदाद भएका परिवारमा खेतीपाती, गाईवस्तुलगायत कृषिसम्बन्धी कार्यमा सहयोगीको भूमिका प्रायःजसो त्यस ठाउँका दुसाध र मुशहर समुदायले समाल्ने गर्दछन् । ती जातिहरूको जीविकोपार्जनको माध्यम त्यही नै हो । 

जाडो छल्ने पोरापराल गिरहत, मालिक (गाउँ घरका जमिन्दारलाई गिरहत वा मालिक भनी सम्बोधन गर्ने प्रचलन छ) को घरबाट मागेर ल्याउन सक्ने र गाई, भैंसी, बाख्राहरू चराउनसमेत छोराछोरीहरूले सहयोग गर्ने सोचाइ मुशहर समुदायको छ । 

परालले छाएको छानो, बाँसको खम्बा र बाँसकै पातपतिंगरलाई बन्धन हाली माटो गोबर मिसाएर लेपन गरेर बनाइएको टाटीद्वारा घेरबार गरिएका झुप्रा घरहरू गुजुमुजु परेको अवस्थामा अझै पनि यथावत् अवस्थामा पाइन्छ । यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका देखिन्छन् । एउटा त बाटोघाटोमा सोहोरेर ल्याइएका पातपतिंगर, गिरहत अर्थात् मालिकसँग अनुनय विनय गरी ल्याइएका परालबाट बालिने आगो जसलाई स्थानीय भाषामा घुर भनिन्छ । जहाँ बस्तीभरिकै बुढापाका, बालबालिका र वृद्ध महिला घुरको धुवाँबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् ।

तिनीहरू खुला आकाशमुनि बसेका हुन्छन् जहाँ माथिबाट शीतका चिसा थोपा झरिरहन्छन्, शरीरको पछाडिको भागमा चिसो सिरेटोले सेकिरहेको हुन्छ भने अगाडिको भागमा आगाको धुवाँयुक्त तापले शरीर केही तातोको अनुभूति गरिरहेका हुन्छन् । शरीरमा उही मैलिएको पातलो धोती, कमिज र गम्छा पुरुषहरूको हुन्छ भने सुती सारी र पातलो पलिया (ओढ्ने) महिलाहरूको पहिरन हुनेगर्दछ । दोस्रो घरको भूइँमा (माटोमा) पराल ओछ्याएर बनाइएको ओछ्यान र परालबाट निर्मित चटाई तथा पुराना कपडाहरू संकलन गरी बनाइएको पातलो ओढ्ने (सिरक) हुने गर्दछ । अर्थात् पराल नै डसना, पराल नै सिरक, पराल नै शरीरलाई तातो प्रदान गर्ने घुर ।

गरिबको यो महत्वपूर्ण साधन कृषि उब्जाउम कमी आउनाले पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको दुखेसो पोख्छन् महोत्तरी भँगाहाका मुशहरी बस्तीकी रामराजी सदा मुशहर । आफ्नो झुप्राअगाडि आँगनमा १०÷१२ जना आफ्ना परिवारजन र छिमेकीसहित घुरका चारैतिर हात फिँजाएर परालको आगो ताप्दै गर्दा उनले आफ्नो दुखेसो यसरी पोखिन् ‘हाम्रो ठण्डी छल्ने यही सहारा हो’ रात कटाउन परालको ओढ्ने ओछ्याउने, दिन कटाउन पराल र पात पतिंगरको घुर । गरिबलाई हेर्ने र गरिबको समस्या समाधान गर्ने कुनै ‘बाबु’ हुँदैनन् । 

भोटको समयमा गाडी वा घोडा चढेर आउनुहुन्छ, सुटेडबुटेड बाबु भैयाहरू तर गरिबको भोको पेट र नांगो शरीर ढाक्ने कसैको योजनामा पर्दैन । भोट र नोटको मोलमोलाई समाजका अगुवा पुरुषसँग हुने गर्दछ, घरका पुरुषलाई एक दिनअगावै ‘दारु मासु’ र हातमा दुई चार हजार ‘दाम’ थमाइदिन्छन् अनि घरका पुरुषले मोहर मर्ने भोटमा छाप लगाउन सिकाउँछन् । त्यसरी नै महिलाहरू मोहर लगाइदिन्छन् । लगातार बढ्दै गएको चिसोले मजदुरी गर्न जान नपाएपछि परिवारमा खाने कुरा पनि समस्या हुने गर्दछ जसको कारणले गर्दा स्वास्थ्य अवस्था झनै बिग्रिने गर्दछ विपन्न समुदायमा । 

न खाने कुराको व्यवस्थापन, न ओढ्ने ओछ्याउने व्यवस्थापन, न शरीर बचाउने बाक्लो लुगाको उपलब्धता असुरक्षित जीवनयापन निर्वाह गर्न बाध्य हुने गर्दछन् मुशहर जातिका अधिकांश परिवार । उक्त समुदायका अधिकांश महिलाको गुनासो एउटै छ ‘हामी गरिबलाई हेर्ने कोही पनि छैन ।’ विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुशहर समुदाय अब भने आफूहरूलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउन थालेका छन । तराई क्षेत्रमा बसोबास गर्ने दलित समुदाय मुशहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति भएको बस्तीमा अहिले पनि अगाध गरिबी झल्किन्छ । 

माघ महिनाको पहिलो सातादेखि अप्रत्यासित रूपले चिसो हावा चल्ने, घाम नलाग्ने गरी मौसममा परिवर्तन आएको कारण केही वृद्धवृद्धाहरूको चिसोमा कठांग्रिएर मृत्युसमेत भएको छ । शीतलहरको असर खासगरी सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई पर्ने गर्दछ । शरीर छोप्ने न्यानो लुगा, ओढ्ने र ओछ्याउनेलगायत सामग्रीको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार हिउँदमा कठांग्रिँदो चिसोबाट वर्षेनी प्रभावित हुँदै आएका छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको र चिसो हावा चल्नाले तराई मधेसका ग्रामीण बस्ती बढी प्रभावित हुने गर्दछन् । 

शीतलहर प्राकृतिक विपदकै कहर हो । चुरेक्षेत्रको विनाश, वनजंगलको फँडानी, नदी नियन्त्रण, सडक निर्माणको अव्यवस्थित योजनाको प्रमुख कारणले गर्दा जाडोयाममा अपत्यारिलो चिसोको कहर केही वर्षदेखि भित्री मधेसका विपन्न परिवार प्रभावित हुँदै आएको छन् । राजनीतिक जनप्रतिनिधि सधैं राजनीतिमै व्यस्त हुन्छन् । जनताका जस्तो सुकै पीडादायक कहर गरिब र विपन्न समुदायको रहर जस्तै अनुभूति हुने प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि छन् । कागले कान लग्यो भन्दै कागको पछि दौडिनेहरूको हातमा सत्ता सुम्पिदिएपछि जनताको अवस्था के होला ? त्यही कागकोपछाडि जनता पनि झण्डझुण्डसहित दौडिँदै छन् अनि आफ्नो समाजको अस्तित्व नै धरापमा पर्नु त स्वाभाविक हो । सुगा, महोत्तरी ।