काठमाडौं:= भारतमा मंगलबार ७२ औं गणतन्त्र दिवस मनाइएको छ । यसै अवसरमा राजधानी नयाँ दिल्लीको राजपथमा विशेष परेड आयोजना गरिएको थियो । दिवसको अवसरमा इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम भएको थियो । यसपटक कोरोना महामारीका कारण कार्यक्रमको आकार भने घटाइएको थियो ।
यसअघि गणतन्त्र दिवसमा कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यो वर्ष कसैलाई पनि बोलाइएको थिएन । केही दिनअघि मात्रै भारतका विभिन्न शहरमा आतंकवादी हमला हुनसक्ने गोप्य सूचनाको आधारमा सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको थियो ।
सोही परिवेशको आँकलन गरेर संभावित घटना रोक्न हरेक प्रदेशका राजधानीमा विशेष सतर्कता अपनाइएको थियो । यसैबीच दिवसकै अवसरमा आयोजना हुने परेडलगत्तै किसानहरुले विवादास्पद तीन वटा कृषि कानुनको विरोधमा ट्याक्टर ¥यालीको आयोजना गरेका थिए ।
यसैबीच, काठमाडौंस्थित भारतीय दूतावासमा पनि मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाइँएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा झण्डोत्तोलन गरेर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो ।
उक्त अवसरमा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई तीन करोड ६८ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको दूतावासले जनाएको छ । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक पनि उपहारस्वरुप प्रदान गरेको थियो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उक्त समारोहको मुख्य आतित्थ्यता गर्नुभएको थियो भने नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले इन्डिया–नेपाल एलुमनाई नेटवर्क सम्पर्क र सोको वेबसाइटको शुभारम्भ गर्नुभएको थियो । समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।




















