भारतले दिएको कोरोनाको खोप काठमाण्डौं आईपुग्यो, जिल्ला जिल्लामा पठाउने तयारी।

काठमाण्डौं:= भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज कोरोनाको खोप काठमाण्डौं आईपुगेको छ । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरोना खोप रिसिभ गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थल पुगेका थिए । यो खोपलाई जिल्ला जिल्लामा पठाउने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।


भारतले यी खोप अनुदानमा दिए पनि बाँकी भने पैसा तिरेर किन्नु पर्नेछ ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई दिएको हो ।

पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ ।