कान्तिपुरद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= रोटरी क्लब कान्तिपुरले कपिलवस्तुको शिवराज नगरपालिकामा २ वटा विद्यालयलाई छात्रवृत्ति वितरण गरेको छ । गरिब, विपन्न, पिछडा तथा जेहेन्दार २ वटा विद्यालयका गरि ३० जना विद्यार्थीलाई नगद र सम्मान पत्रले छात्रवृत्ति प्रदान गरिएको क्लबले जनाएको छ ।

रोटरी क्लब कान्तिपुरको ५० लाख र अमेरिकाका प्रोफेसर डाक्टर व्यासको श्रीमतिको नाम उर्मिला स्कर्लसिपको नाममा ५० लाख जम्मा गरेर खडा गरिएको अक्ष्यकोष मार्फत देशैभरीका २२ वटा जिल्लाका विभिन्न विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चलान भइरहेको बताईएको छ । हाल व्यास र उर्मिला दुबै जनाको देहान्त भइसकेको समेत रोटरी क्लब कान्तिपुरले जनाएको छ । विद्यार्थीको मनोबल उच्च रहोस भनि २ वटा भलिबल समेत प्रदान गरिएको छ । जिल्लाको धर्मनगर आधारभुत विद्यालय र बालज्योति आधारभुत विद्यालयका १५–१५ गरि जम्मा ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको बालज्योति आधारभुत विद्यालय व्यवस्थापन समतिका अध्यक्ष मूलचन्द यादवले जानकारी दिए ।

रोटरी क्लब कान्तिपुर उर्मिला एन व्यासका संयोजक राजिब शाहले गाउँघरका सरकारी विद्यालयका विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुन नदिन भनि छात्रवृत्ति वितरण गरिएको बताएका छन् । गरिब, विपन्न, पिछडा तथा जेहेन्दार विद्यार्थीलाई अक्षय कोष खडा गरी विगत केहि बर्षदेखि देशका विभिन्न जिल्लामा वितरण गर्दै आएको उनले बताए । दिन प्रतिदिन शिक्षाप्रति हुँदै गएको गैर चासोको अन्त्य गर्दै अभिभावक गम्भिर हुनुपर्ने संयोजक शाहले जनाए । कतिपय विद्यार्थीमा क्षमता भएर पनि अन्य विकल्प रोज्नुपर्ने बाध्यता रहेको उनले बताए । त्यसकारण आफूहरुले छात्रवृत्तिको माध्यबाट वितरण गरिएको बर्षिक ३ हजार रुपैयाले समेत विपन्न परिवारका विद्यार्थीलाई राहत पुग्ने संयोजक शाहले जिकिर गरे ।

यसैबीच शिवराज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शंकर अहिरले आफ्नो वडामा रहेका विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको रोटरी क्लब कान्तिपुर उर्मिला एन व्यासलाई धन्यवाद दिँदै अर्थिक अवस्था कमजोर रहेका परिवारको विद्यार्थीलाई राहत पुग्ने जनाए । विशेषगरी मद्येशी समुदायमा विद्यालय नभएर अन्यत्र काममा बालबालिकालाई लगाइने चलनको अन्त्य गर्नुपर्ने उनले जनाए । शिक्षाले समुदायको मुहार फेरिने हुनाले शिक्षाप्रति अभिभवाकहरु जिम्मेवार बन्नुपर्ने जनाउँदै बालिकाहरुलाई घर देखि विद्यालयसम्माको वातावरण समेत सहज गर्न जरुरी रहेको अध्यक्ष अहिरले बताए ।

उक्त कार्यक्रममा योगा तथा ध्यान प्रशिक्षक देविका शाहले विद्यार्थीहरुलाई स्वस्थ्य रहन योगा प्रशिक्षण दिएकी थिईन् । साथै स्थानीय धर्मनगर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम यादव, बुद्घिजिवी, समाजसेवी लगायतले सो कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।