काठमाडौं:= नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा छोटो समयमा ठूलो सफलता हात पार्नु भएका गायक प्रकाश सपुत अहिले चलचित्र निर्माता तथा निर्देशकको नजरमा हुनुहुन्छ । उहाँले आफूले बनाएका गीत एकपछि अर्को समय दर्शक तथा श्रोतामाझ लोकप्रिय छन् । त्यसैले उहाँको लोकप्रियतालाई चलचित्रका निर्माता तथा निर्देशकले पर्दामा देखाउन चाहन्छन् । यसैबीच उहाँले ‘परदेशी २’ चलचित्रमा काम गरिसक्नु भएको छ । उक्त चलचित्रको छायांकन हालै सकिएको छ ।
प्रकाशले आफूलाई अन्य चलचित्रबाट अफर आइरहेको बताउनु भएको छ । उहाँले पछिल्लो समय दुईवटा चलचित्रको स्क्रिप्ट हेरिसकेको तर तत्काल अन्य चलचित्रमा काम गरिहाल्ने सोंच नभएको बताउनु भएको छ । बिहीबार प्रकाश अभिनित ‘सिर्जनाकी श्रेष्ट तिमी’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रकाशले भन्नुभएको छ, ‘अफर त आइरहेका छन् तर सबैलाई मैले परदेशी २ रिलिज नहुन्जेल अन्य चलचित्रमा तत्काल काम गर्दिनँ भनेको छु । किनकि यो अहिलेको अवस्थामा चलचित्र रिलिज कहिले हुन्छ भन्ने टुँगो छैन ।’

प्रकाशले परदेशी २ रिलिज भइसकेपछि कस्तो चलचित्रमा काम गर्ने भन्ने विषयमा सोचिरहेको बताउनु भएको छ । प्रकाश आफ्नै व्यानरबाट चलचित्र निर्माण गर्नेकी भन्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो पहिलो चलचित्र परदेशी २ रिलिज भइसकेपछि आफ्नै व्यानरबाट चलचित्र निर्माण गर्ने कि अन्य व्यानरको चलचित्रमा काम गर्ने भन्ने विषयमा सोच्न बाँकी छ । हेरांै के हुन्छ ।’
प्रकाशले पछिल्लो समय आफ्नै स्वरमा रहेको गीतभन्दा अन्यको गीतको भिडियोमा अभिनय बढी गर्नुभएको छ । उहाँलाई म्युजिक भिडियोमा काम गर्न अफर आउने बताउनु भएको छ । ‘अभिनयकै लागि अफर धेरै आउँछन्, तर मेरो प्याटनको होकी नाई भनेर हेर्ने पनि गरेको छु । मलाई दर्शकले बढी लोक प्याटनको गीतमा मन पराउनु भएको छ । त्यसैले पछिल्लो समय गीत छानेर काम गर्ने गरेको छु ।’ उहाँले तीन वर्षअघि आफूले दैनिक दुईदेखि तीनवटा म्युजिक भिडियोमा काम गरेको सम्झिनुभयो । तीज पर्वको समयमा प्रकाशले एक सिजनमा ५० देखि ५५ वटा तीज गीतको भिडियोमा काम गर्नुभएको छ ।
बिहीबार सार्वजनिक गरिएको ‘सिर्जनाकी श्रेष्ट तिमी’ बोलको गीतमा प्रताप दास र रजिना रिमालको स्वर छ । गीतमा प्रदीप थुलुङको शब्द छ भने रिमेश कुमारले संगीत भर्नुभएको छ । भिडियोमा प्रकाशसँगै प्रदीप अधिकारी र प्रमिला क्षेत्रीले अभिनय गर्नुभएको छ । भिडियो विक्रम चौहानले निर्देशन गर्नुभएको हो । भिडियोको निर्माता रमेश शाही हुनुहुन्छ ।





















