धनगढी:= धनगढी उप–महानगरपालिका–१४ की विस्ना थापाका श्रीमान्को आधा उमेर भारतमै बित्यो । अझै पनि उहाँको रहर सकुञ्जेलसम्म भारतमै रोजगारी गर्ने थियो । तर उहाँको त्यो सोचलाई कोरोना कहरले फेरिदियो । अनि के गरौं भनेर दोधारमै रहनुभएका वेला वडा सदस्यमार्फत विस्नाले उद्यमशीलताको तालिम हुन लागेको थाहा पाउनुभयो । सो तालिम लिने र पछि मिलेर स्वदेशमै काम गर्ने सल्लाह अनुसार विस्ना तालिममा सहभागी हुनुभयो । तालिममा सहभागी भएर उहाँले कसरी उद्यम गर्ने, किन गर्ने, कुन उद्यमका के कस्ता समस्याहरू छन्, त्यसका चुनौतीहरू के कस्ता छन्, त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा थाहा पाउनुभयो ।
तालिममै सहभागी भइरहँदा उहाँले तरकारी खेती गर्ने सोच बनाउनुभयो । अनि श्रीमान्सँग मिलेर बन्धकी रहेको जग्गामा तरकारी खेती गर्ने योजना बन्यो । श्रीमान्ले भारत जानका लागि आफ्नै जग्गालाई बन्धकी राखेर रकम लिनुभएको थियो । त्यो रकम केही तिरिसकिएको छ भने बाँकी रकम पनि तिर्ने तयारीमा थापा दम्पति रहेका छन् ।
अहिले विस्नाको पाँच कठ्ठा जग्गा तरकारीले भरिएको छ । बन्दाकोभी बारीभरी फक्रिने तयारीमा छन् । खुर्सानी र धनियाँले बारी नै हरियो भएको छ । मसिनो माटोमा मोटा र ठुला मुलाहरू फलिरहेका छन् । केही तरकारीका बीउ रोप्नका लागि तयार भइसकेका छन् । केही तरकारी माटोसँग लडिबुडी गरिरहेका छन् । केही महिनाअघि सामान्य घर चलाउनका लागि अरूको भर पर्ने र प्रायः सधैं निराश देखिने विस्नाको अनुहार फेरिएको छ । मुहारमा चमक थपिएको छ । खुशी हुनुहुन्छ श्रीमान् पनि । श्रीमान् श्रीमतीसँगै दाजुभाउजूका हातहरू पनि तरकारी फलाउनमा सघाउ बनिरहेका छन् । श्रीमान्लाई घरमा राख्ने सोचले सुरु गरेको तरकारी खेतीहरूले आफूहरूको जीवन पनि फेरिएकोमा खुशी हुनुहुन्छ, विस्ना । ‘श्रीमान कामका लागि भारत जानुहुन्थ्यो । अहिले सँगै आर्गानिक तरकारी खेती गरिरहेका छौं ।’ थापाले हिमालय टाइससँग भन्नुभयो, ‘भारतमा नौकरी गरेर कमाउने पैसाभन्दा बढी घरकै बारीमा काम गर्दा कमाइ हुने रहेछ । गाउँमै तरकारी खेती गरेर कमाउन सकिने देखेर नै अहिले दाजु भाउजूले पनि सघाइरहनु भएको छ ।’
विस्नाको परिवारले अहिले गरिरहेको पाँच कठ्ठा जमिन अपुग हुन थालेको छ । त्यसका लागि १० कठ्ठा जमीन भाडामा लिइसकिएको छ । अब त्यहाँ पनि तरकारी खेती विस्तार हुँदैंछ । विस्नाका दम्पत्तिले गरेको तरकारी विक्री वितरण गर्न पनि कुनै अप्ठ्यारो छैन । यसअघि त्यही बन्धकी राखेको जमिनमा थापा दम्पतिले धान र गहुँ खेती गर्दै आउनुभएको थियो । आज श्रीमान्लाई घरमा रोक्दा तरकारी खेती गरेर कमाइ हुन थालेपछि विस्ना निकै खुशी हुनुभएको छ । ‘धान गहुँ लगाएर भएको उत्पादन तीन महिना पनि खान पुग्दैनथ्यो । बर्षभरि किनेरै खानुपथ्र्यो ।’ थापाले भन्नुभयो, ‘अहिले तरकारी खेती लगाउन थालेपछि यसबाटै कमाइ भएको छ । त्यो पैसाले आवश्यक सबै खर्च कटाएर आम्दानी पनि हुन थालेको छ । हामी किन धान गहुँ लगाउने तरकारी खेती नै गर्छौ अब ?।’
विस्नाले तरकारी खेतीमा लाग्ने उत्प्रेरणा र आवश्यक प्राविधिक सहयोग कोभिड–१९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजनाले गरेको हो । युनडीपीको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समुह संघ कैलाली तथा धनगढी उपमहानगरपालिका सहयोग र समन्वयमा गरिएको लघु उद्यमशीलता तालिमले उहाँलाई तरकारी खेती गर्न उर्जा थप्यो । त्यसैबाट उहाँलाई तरकारी खेती गर्नका लागि आवश्यक तरकारीको बिउ, मोटर र सिंचाइका लागि पाइप पाउनुभयो । त्यहीँबाट नै कृषिमार्फत उन्नतिको बाटोमा लागेको बिस्ना बताउनुहुन्छ ।
विशेष गरेर कोभिड–१९ बाट रोजगारी गुमाएका र भारतबाट आएका आप्रवासी कामदारलाई जीविकोपार्जन सुधार गर्न उद्यमशीलता तालिम दिइएको थियो । धनगढी उपमहानगरपालिकासँग मिलेर सञ्चालन भइरहेको परियोजनाले विस्ना जस्ता आफ्नै घरमा बसेर काम गर्न चाहनेलाई तालिम गराउँदै उद्यमशीलतातिर लगाइरहेको जिल्ला लघु उद्यमी समुह संघ कैलालीका अध्यक्ष गणेश विष्टले बताउनुभयो । व्यवसायपछि किसानहरूका लागि उत्पादनलाई बजारीकरण गराउन पनि आफुहरूले पहल गरेको उहाँको भनाइ छ । धनगढी उपमहानगरपलिका वडा नम्बर १, १४ र १६ का १५० जनाभन्दा बढी परियोजनाको सहयोगमा स्वरोजगार बनेका छन् ।




















