क्वालालम्पुर(मलेसिया):= चीनको तिब्बततर्फबाट आएको बाढी रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेपछि रसुवा लगायतका क्षेत्रमा भएको विनाशबाट प्रभावित तथा घरबारविहीन बनेका बाढीपीडितका लागि मलेसियाबाट नेपाली युवाले आर्थिक सहयोग गरेका छन्।
नेपाल ठेगाना भोजपुर जिल्ला निवासी तथा मलेसियामा विभिन्न सामाजिक संघ-संस्थामा नेतृत्वदायी भूमिकामा रहेका खेमराज खत्रीले १० हजार नेपाली रुपैयाँ बाढी तथा विपदबाट प्रभावित पीडित जनताका लागि सहयोग गरेका हुन्।
खत्रीले उक्त सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै ट्रान्सफर गरी जम्मा गरेका छन्। विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम प्रदान गरेका हुन्।
खत्री गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका शाखा सह-कोषअध्यक्ष, प्रवासी नेपाली सम्पर्क विभाग “रास्वपा” मलेसियाका कोष प्रमुख तथा भोजपुर सेवा समाज मलेसियाका अध्यक्ष समेत हुन्।
नेपालमा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नेपाली नागरिक घरबारविहीन भएर अत्यन्तै दयनीय अवस्थामा पुगेको भन्दै खत्रीले पीडित परिवारलाई तत्काल राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए।
उनले विपद्को यस कठिन परिस्थितिमा पीडित नेपाली नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै मलेसियामा रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार आर्थिक सहयोग गर्न हार्दिक आह्वान गरेका छन्।
खत्रीले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मलेसियामा रहेका नेपाली समुदाय एकजुट भएर सहयोग गर्नुपर्नेमा समेत जोड दिएका छन्।




















