प्रचण्ड र नेपाल निकट ७ जना मन्त्रीहरुले दिए सामुहिक राजीनामा।

काठमाडौं :=  संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन्।

तीन वर्षअघि मंसिरमा नेपालको नयाँ संविधानअन्तर्गत पहिलो निर्वाचन गरिएको थियो। उक्त निर्वाचनमा तात्कालिक नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका थिए। निर्वाचनपश्चात् पार्टी एकीकरण भएको थियो र नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो।

जसअनुसार हाल संसद्को तल्लो सदनमा दलीय हिसाबमा नेकपाको खातामा एक स्वतन्त्र सांसद मिसिएपछि १७५ सदस्य रहेका थिए भने दोस्रोमा नेपाली कांग्रेससँग ६३ र जनता समाजवादी पार्टीसँग ३४ जना सदस्य रहेका थिए। त्यस्तै राष्ट्रिय जनमोर्चासँग १, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ र नेपाल मजदुर किसान पार्टीसँग १ जना सदस्य रहेका थिए।

आइतवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसदको प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुनेगरी निर्वाचनको घोषणा गरेकी छन्।