गायिका कल्पना दाहाल: सामाजिक सञ्जालले दिलाएको चर्चा।

काठमाडौं := पछिल्लो केही महिनायता सामाजिक सञ्जालमा निकै चर्चित बनेको जोडी हो गायिका कल्पना दाहाल र प्रखर वक्ता रमेश प्रसाईंको । विशेषगरी टेलिभिजन कार्यक्रम इन्द्रेणीमा यो जोडीले दोहोरी गाइसकेपछि सामाजिक सञ्जालमा अत्यधिक रुचाइयो । दोहोरीमा एकअर्कालाई माया गर्छौं, हाम्रो जोडी राम्रो छ भन्दै गाएपछि दर्शकले यो जोडीलाई वास्तविक जोडी नै हुनुपर्ने भन्दै विभिन्न प्रतिक्रिया दिन थाले।


रमेश प्रसाईं दृष्टिविहीन हुनहुुन्छ । उहाँको बोल्ने शैली, ज्ञानलाई निकै रुचाइएको छ । पछिल्लो समय दोहोरी गाउन सक्ने कलाले झन् उहाँलाई थप चर्चामा ल्याइदियो । यसैक्रममा गायिका कल्पनासँग दोहोरी गाउँदा प्रेम र बिहेसम्मको चर्चा चलेका हुन् । यतिकैमा अहिलेको साता यो जोडीको चर्चा झन् शिखर पुग्यो । रमेश र कल्पनाको बिहे हुन्छ भनेका दर्शक तथा श्रोतालाई अचम्म बनाउने गरी रमेश प्रसाईंले आफ्नो प्रेमिका सार्वजनिक गर्दै बिहेको घोषणा गरेपछि सामाजिक सञ्जाल खुबै तात्यो । गत मंसिर २२ गते रमेशले नन्दा सिंहसँगको तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्नुभयो । विवाहको निमन्त्रणा कार्ड सामाजिक सञ्जालमा भाइरल बन्दै गर्दा गायिका कल्पनालाई धोका दिएको भन्नेसमेत प्रतिक्रिया देखिन्थे । तर रमेश र कल्पनाले भने आफूसँग प्रेममा नरहेको जानकारी दिँदै आउनु भएको थियो।


विवाह समारोहमा पुग्नु भएकी गायिका कल्पनालाई धरानमा युट्युबरले निकै घेरेका थिए । उहाँलाई युट्युबर तथा सामाजिक सञ्जालबाट धोका दिएकै हुन् ? टेन्सनमा हुनुहुन्छ भन्ने प्रश्न निकै गरेको देखिन्थ्यो । अहिले रमेश बिहे गरेर आफ्नो स्थायी बसोबास रहेको काँकडभित्तामा हुनुहुन्छ भने कल्पना इन्द्रेणी कार्यक्रमको टिमसँग कामको शिलशिलामा इलाम पुग्नुभएको छ ।
विशेषगरी गायिका कल्पना दाहाललाई अहिले दर्शक तथा श्रोताले अत्यधिक चिन्ने मौका पाए तापनि रमेशसँग नाम नजोडिँदै गायन क्षेत्रमा हुनुहुन्थ्यो । उहाँले नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा दर्जनौं गीत गाउनुभएको छ । यस्तै प्रत्यक्ष दोहोरी भने धेरै नै गाउनु भएको छ । कल्पनाको विशेषगरी प्रत्यक्ष गाउने कलाको धेरैले सम्मान गर्छन् ।