काठमाडौं:= ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरूले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रूपमा समस्या परेको भन्दै उनीहरूले व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सुचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताउनुभयो । ठमेलको रात्रिकालीन व्यवसाय पूर्ण–रूपमा खुल्ला गर्न व्यवसायीहरूले माग गरेका छन् । सबै आधिकारिक निकायमा ज्ञापन पत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरूको भनाइ छ । अध्यक्ष राणाले सिसिएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।
रात्रिकालीन व्यवसायीहरूले विभिन्न नारा लेखिएका ब्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरबाहीले मर्दैछन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोगभन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरू सडक छेउमा उभिएका थिए ।




















