छाउपडी प्रथाको मानसिकता फेरिँदै।

[ कृष्ण बिष्ट ]

बैतडी:= बैतडीको पाटन नगरपालिका–३ गुजरकी सरस्वती र मञ्जु पन्त दिदीबहिनीको महिनावारी हुँदा बार्नुपर्ने चलनमा आंशिक हेरफेर भएको छ । आजभोलि महिनाबारीको समयमा पनि उहाँहरू विद्यालय जानुहुन्छ, किताब पढ्नुहुन्छ र गोरस समेत खानुहुन्छ । ‘नियमित सरसफाइमा ध्यान दिन्छु, विद्यालय जान्छु, किताब पनि छुनु हँुदैन भन्ने हुन्थ्यो, आजभोलि किताब पनि पढ्छु, त्यस्तो छैन ।’ सरस्वतीले भन्नुभयो, ‘आजभोलि महिनावारीको समयमा बार्नु पर्ने कुराहरूमा केही परिवर्तन आएको छ ।”

उहाँहरूका अनुसार छाउपडी प्रथालाई अहिले नै निर्मूलै गर्न सक्ने अवस्था छैन । मञ्जुले भन्नुभयो, ‘चार दिनसम्म त गोरस खाँदैनौ, पानी छुन पनि बर्जित छ ।  तर, चार दिनपछि सबै काम गर्छाैँ, उहाँले थप्नुभयो, घरमा अलग्गै सुत्छाँै, छाउपडी गोठ नै बनाएको अवस्था छैन ।’

पहिले महिनावारी भएको बेला विद्यालय जानु हँुदैन र किताब पढ्नु हँुदैन भन्ने सोच रहेकामा आजभोलि भने त्यसमा आंशिक परिवर्तन भएको मञ्जुको भनाइ छ । 

अहिले जिल्लाका सबैजसो स्थानीय तहहरूले किशोरीहरूका लागि काम गरिरहेका छन । नियमित विद्यालय आउन प्रेरित गर्नको लागि किशोरीमैत्री वातावरण सिर्जना गरीरहेको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टले बताउनुभयो । ‘गत वर्ष पनि हामिले धेरै कार्यक्रहरू सञ्चालन ग¥याँै’, उहाँले भन्नुभयो, आधारभूत र मावि तहका विद्यालयमा पनि प्याडको व्यवस्था गरेका छाँै ।’

पछिल्लो समयमा किशोरीहरू संगठित भएर पनि काम गरिरहेका छन् । स्थानीय तह तथा गैरसरकारी संस्थाहरूको समन्वयमा जिल्लामा तीन हजार किशोरीहरू संगठित भएका छन् । पालिकाहरूमा पछिल्लो समयमा किशोरी समूह गठन गरी बालबिवाह न्युनीकरण र कुरीतिको विरुद्धमा कार्यक्रमहरू भइरहेका छन् । 

जिल्लाका स्थानीय तह तथा गैरसरकारी संस्थाको समन्वयमा जिल्लामा किशोरी समूह गठन गरिएको र अहिले आफ्नो अधिकारको लागि लडिरहेको छोरीका लागि छोरी अभियानकी जिल्ला संयोजक भुवि बिष्टले बताउनुभयो । ‘वैतडी एक मात्रै सुदूरपश्चिमको छाउगोठ नभएको जिल्ला हो ।’ उहाँले भन्नुभयो, ‘हामीले महिनावारी भएका बेलादेखि बालविवाह न्यूनीकरणको लागि बिशेश पहल चाल्छाँै, उहाँले भन्नुभयो, विभिन्न सचेतनामूलक कार्यक्रम र घरदैलो अभियान नै सञ्चालन गरी हामिले काम गरिरहेका छौँ ।’