काठमाडौं:= नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासंघ (एएफसी) का प्रतियोगिता खेल्न नपाउने भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।
क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत क्लबलाई लाइसेन्सका लागि एएफसीलाई निवेदन दिएका थिए । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ ।
सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ । लाइसेन्सका लागि पुनः एएफसीसँग अनुरोध गर्ने एन्फाका प्रवक्ता किरण राईले बताउनुभयो । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन ‘बी’ डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन ।
क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ ।
लाइसेन्सका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, न्यूरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले निवेदन दिएका थिए ।
क्लब लाइसेन्सिङको मापदण्ड पूरा नगरे पनि गत वर्ष लिग च्याम्पियनका हैसियतले मनाङ मस्र्याङ्दी क्लबले एफसी कप खेल्न पाएको थियो । तर पछि एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको थियो । क्लब लाइसेन्स नभएकै कारण यसवर्ष ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कपको छनोट चरण खेल्न पाएन ।
नेपालमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबबाहेक अन्य क्लबको मैदानसमेत छैन । विभागीय टोलीको पनि युवा टोली नभएको भन्दै एएफसीले लाइसेन्स नदिएको हो ।
लिगबारे एन्फाको ब्रिफिङ
यसैबीच, एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबारे राष्ट्रिय खेलकुद परिषद्लाई ब्रिफिङ गरेको छ । २०२१ मा हुने लिगका बारेमा राष्ट्रिय खेलकुद परिषद्सँग एन्फाले सोमबार छलफल गरेको हो ।
एन्फा कम्प्लेकस सातदोबाटोमा एक कार्यक्रमको आयोजना गर्दै एन्फाले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई आगामी बर्ष आयोजना हुने लिगको संरचनाका बारेमा जानकारी दिएको थियो । एन्फाले आगामीवर्ष विभिन्न शहरमा लिग आयोजना गर्ने तयारी गरेको छ ।
कार्यक्रममा परिषद्का सदस्यसचिव सिलवालसहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, लिग कमिटीका डाइरेक्टर सञ्जीव मिश्रलगायतको सहभागिता थियो । उक्त कार्यक्रममा मिश्रले सिलवाललाई लिगका बारेमा जानकारी गराउनुभएको थियो ।




















