महासंघको ५४ औँ साधारणसभा सुरु, एमसिसी पास गर्न आग्रह।

काठमाडौं := नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । साधारणसभामा महासंघ अध्यक्ष भवानी राणाले विद्युत् प्रसारणलाई प्रभावकारी बनाई निर्यातका लागि अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयोगी हुने भन्दै राष्ट्रिय सहमति जुटाएर एमसिसीलाई पारित गर्न आग्रह गर्नुभएको छ ।

कोरोनाको प्रतिकूल अवस्थामा पनि महासंघले मुलुकको अर्थतन्त्रको ब्लड–सर्कुलेसन गराउन बलियो धमनीको रूपमा काम गरेको राणाले बताउनुभयो । कोरोनाले मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कठिन अवस्थामा पु¥याएको भन्दै राणाले धेरै ठूला अर्थतन्त्र ऋणात्मक भएको, अनौपचारिक क्षेत्रका दुई अर्बमध्ये एक अर्ब ६० करोड मानिसको अवस्था गम्भीर बनेको बताउनुभयो । राणाले नेपालमा पर्यटनसहितका क्षेत्र नराम्रोसँग प्रभावित भएको र ३१ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएको उल्लेख गर्दै ऋण तिर्न, विद्युत् महशुल तिर्न, कर तिर्न धेरै उद्योग व्यवसायलाई समस्या भएको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ अग्रजहरूको मिहिनेत र सरकारको भरोसाका कारण यहाँसम्म आइपुगेको भन्दै कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा रहेको बताउनुभयो । यस्तो बेलामा पनि व्यवसाय गर्ने र कर तिर्ने काम गरिरहेको उहाँको भनाइ छ । हाल २ लाख बढी संक्रमित रहेको र १३ सयभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै कोरोनाका कारण अर्थतन्त्रको विस्तार एक प्रतिशतभन्दा कम हुने संकेत देखिएको बताउनुभयो । अर्थतन्त्रमा २३ प्रतिशत योगदान गर्ने घरेलु तथा साना उद्यम दयनीय अवस्थामा पुगेको, धेरै क्षेत्रको विस्तार ऋणात्मक रहेको उहाँले बताउनुभयो । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि चार महिनापछि आए पनि चाँडो कर्जा दिने व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने, कोरोनाले पारेको क्षतिको आंकलन गरी तत्काल राहत प्याकेज आवश्यक रहेको उहाँँको भनाइ उहाँको भनाइ छ । 

गोल्छाका अनुसार कोरोना प्रभावित अर्थतन्त्रको उत्थानका लागि कुल गार्हस्थ उत्पादन

(जिडिपी)को ९ प्रतिशतको राहत कोष अर्थात् ३ खर्ब ४० अर्ब खर्च गर्नुपर्ने एक अध्ययनले देखाएको छ । कोरोनाको खोप आउनेबित्तिकै सहजै उपलब्ध गराउनुपर्ने र त्यसका लागि निजी क्षेत्र सहयोग गर्न तयार रहेको पनि गोल्छाले बताउनुभयो । महासंघले १० वर्षको भिजन पेपर बनाइरहेको र भिजन पेपर तयार भएपछि सरकारलाई बुझाइने उहाँले जानकारी दिनुभयो ।

उहाँले लकडाउनमा उद्योग व्यवसायमा ठूलो क्षति भएकोले ब्याजदरमा छुट, चालु पुँजी, न्यून ब्याजदरमा ऋणका साथै बजेट र मौद्रिक नीतिका कार्यक्रम कार्यान्वयनको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । १ खर्ब पुनर्कर्जा कोषलाई बढाएर २ खर्बको बनाउनुपर्ने र कर्जा अवधि पनि बढाएर ३ वर्ष बनाउनुपर्ने उहाँको सुझाव छ । अर्थतन्त्रलाई लयमा ल्याउन सकिएन भने आर्थिक मन्दीले दुःख दिने भन्दै अब सरकारले प्रत्यक्ष अनुदान, राजस्व छुट, सावा ब्याज छुटलगायतका विषयको सम्बोधन गर्नुपर्ने पनि बताउनुभयो । सो अवसरमा प्रधानन्त्री केपी शर्मा ओलीले महासंघका पूर्व–अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्व–अध्यक्षहरू क्रमशः महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्य ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारकालाई प्रशंसापत्रबाट सम्मानित गर्नुभएको थियोे ।

महासंघको संघीय संरचनाअनुसार प्रादेशिक आर्थिक विकास र निजी क्षेत्रको भूमिका बढाउन उल्लेख्य भूमिका खेल्ने महासंघ प्रदेश च्याप्टरका अध्यक्षहरू क्रमशः नरेन्द्रकुमार खड्का, प्रदेश १, शिवशंकर साह हिरा, प्रदेश २, दिनेश श्रेष्ठ, बागमती प्रदेश, सञ्जीवबहादुर कोइराला, गण्डकी प्रदेश, गुणनिधि तिवारी, लुम्बिनी प्रदेश, पदमबहादुर शाही कर्णाली प्रदेश र शंकर बोगटी, सुदूरपश्चिम प्रदेशलाई कदरपत्रबाट प्रदान गरिएको थियो ।

साथै महासंघस“ग नजिकमा रहेर कार्य गर्ने नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जिआइजेड नेपाल कार्यालय, ब्रिटिस काउन्सिललाई पनि सम्मान गरिएको थियो । ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक व्यावसायिक विकासमा उल्लेख्य योगदान गरेबापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदरपत्र प्रदान गरिएको थियो । साधारणसभाकोे दोस्रो दिन शुक्रबार जुममार्फत बन्दसत्र आयोजना हुने कार्यक्रम छ भने शनिबार निर्वाचनको कार्यक्रम  छ ।