क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कार्यरत १७ लाख भन्दा धेरै विदेशी श्रमिकको अनिवार्य रुपमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिने भएको छ।
विदेशी श्रमिकका (कोभिड-१९) को संक्रमण उच्च देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको सरकारका बरिष्ठ रक्षामन्त्री ईस्माइल साब्री याकोबले जानकारी दिएका छन्। मलेशियाको अनलाइन द-स्टारका अनुसार मलेसियाका बरिष्ठ रक्षामन्त्री साब्रीले विदेशी श्रमिकको अनिवार्य कोभिड परीक्षण गरिने बताएका हुन।
बुधवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पहिलो चरणमा क्वालालम्पुर, सेलेंङ्गर, लाबुआन, पेनाङ तथा नेग्री सेम्बीलानमा गरी ८ लाख ८८ हजार ३ सय ४२ जना विदेशी श्रमिकको परीक्षण गर्ने योजना रहेको बताएको छ।

यसैगरी मन्त्री साब्रीले विदेशी श्रमिकलाई राख्ने होष्टल,कोठामा भिडभाडपूर्ण भएमा प्रति श्रमिक ५० हजार रिंगिट जरिवाना रोजगारदातालाई हुने चेतावनी समेत दिएका छन् । उनले श्रमिकलाई राख्ने आवासको न्यूनतम मापदण्ड अनुरुपको व्यवस्था लागु गराउन मानव संशाधन मन्त्रालयले कार्य गर्ने बताए।




















