कोरोनाको जोमिख हेरी सबै देशमा अन्तर्राष्ट्रिय उडान नियमित गर्ने सरकारको निर्णय।

काठमाडौं:= संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ । 

मंगलबार बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो । 

संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’

विभिन्न सरकारी कार्यालयहरूमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । 

संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । सिसिएमसीको बैठकले लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ । बैठकले अब प्रमुख जिल्ला अधिकारीले अवस्था हेरेर लकडाउन गर्न सक्ने निर्णय गरेको जनाएको छ । 

कोरोना नियन्त्रण तथा रोकथामको विषयमा उपत्यका मेयर फोरमले माग गरेअनुसार लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय सिसिएमसीले गरेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो।

संक्रमणको जोखिम हेरेर अब जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी बनाउने श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि एकपटक छोटो समयका लागि लकडाउनको माग मेयर फोरमले गरेको थियो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।

यद्यपि, सिसिएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । संक्रमणको उच्च रहेका सीमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले जानकारी दिनुभयो । 

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।